काठमाडौं, १३ मंसिर । आज (बिहीबार) काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा मौसम बदली भएको छ अर्थात् बादल लागेको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। ‘अहिले बिहानदेखि दिउँसोसम्म देशका उल्लिखित स्थानमा हल्का वर्षा हुने सम्भावना छ’, मौसमविद् मानन्धरले बिहीबार बिहान भनिन्, ‘यस क्रममा आज दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का÷छिटपुट वर्षा हुने सम्भावना देखिएको छ, त्यस्तो ठूलो वर्षाको सम्भावना भने छैन।’उनका अनुसार दिउँसो देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना भए पनि अपराह्न अर्थात् २, साढे २ बजेपछि मौसम खुल्ने सम्भावना देखिएको छ।
महाशाखाका अनुसार राति भने वर्षाको सम्भावना छैन। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक\दुई स्थानमा हल्का हिमपातको भने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव पनि परिरहेको छ। त्यसैका कारण मौसम बदली, वर्षा र हिमपातको सम्भावना देखिएको हो।
प्रतिक्रिया दिनुहोस्