काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक आईजीपी बसन्त बहादुर कुँवर इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रिया प्रस्थान गरेका छन् । प्रहरीको अन्तराष्ट्रिय सञ्जाल इन्टरपोलको कार्यालक्रमा भाग लिन आईजीपी कुँवर अष्ट्रिया गएका हुन् ।
१२ मंसिरदेखि १५ सम्म इन्टरपोलको महासचिवालयको आयोजनामा ९१औँ महासभामा अष्ट्रियाको भियनामा हुनेछ ।
कार्यक्रममा भाग लिन एनसीबी काठमाडौंका प्रमुख समेत रहेका आईजीपी कुँवरसहित इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर राणा प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीसमेत अष्ट्रिया प्रस्थान गरेका छन् ।
इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुन लागेका हुन् ।
इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू महासभामा सहभागी हुनेछन् ।
आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।








प्रतिक्रिया दिनुहोस्