ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी उत्साहित- पर्यटक आगमनले रेकर्ड तोड्यो


एबीसी न्यूज

काठमाडौं, ५ मंसिर । गएको अक्टोबरमा एक महिनामा हालसम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिए । पर्यटक संख्या बढेसँगै व्यवसायी हौसिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकानुसार अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल प्रवेश गरे । एक महिनामा नेपाल भित्रिएको पर्यटक संख्याले रेकर्ड तोडेको हो । यसअघि, सन् २०१९ अक्टोबरमा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए ।

पर्यटन क्षेत्रमा हालको स्थिति उत्साहपूर्ण रहेको व्यवसायी बताउँछन् । २०२४ मा पर्यटक आगमन कोभिड–१९ अघिकै लयमा फर्कने व्यवसायीको प्रक्षेपण छ ।

यो स्थिति निरन्तर रहे र कुनै प्रकोप वा महामारी ननिम्तिए २०२४ मा पर्यटक आगमन लयमा फर्कने पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । पर्यटकीय व्यवसाय पनि पोहोरपरारभन्दा राम्रो रहेको उनको भनाइ छ ।

“बिजनेसका हिसाबले पोहोरपरारभन्दा ठिक छ । अक्टोबरमा पर्यटक आगमन धेरै राम्रो भयो, नोभेम्बर अलि कम छ,” मिश्र भन्छन्, “पर्यटक आगमनले भविष्य एकदमै राम्रो देखाएको छ ।”

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । १० महिनामा सात लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डको तथ्यांकानुसार जनवरीदेखि अक्टोबरसम्म सात लाख १९ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

यो कोरोना महामारीपछि सबैभन्दा धेरै हो । २०२२ मा साढे ६ लाख पर्यटक नेपाल घुम्न आएका थिए ।

बोर्डको तथ्यांकानुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएका छन् ।

यस्तै, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ र अगस्टमा ६७ हजार १५३ पर्यटक भित्रिएको तथ्यांक छ ।

होटेल एसोसिएसन अफ नेपाल ९हान०का अध्यक्ष विनायक शाह होटेल ‘अकुपेन्सी’ कुल क्षमताको औसतमा ३० देखि ३५ प्रतिशत रहेको बताउँछन् । अक्टोबर र नोभेम्बरमा काठमाडौं, पोखरा र चितवनका केही ठूला होटेलमा अकुपेन्सी राम्रो रहेको र बुकिङ पनि सोहीअनुसार भएको उनले जानकारी दिए ।

उनका अनुसार गत वर्षको तुलनामा अकुपेन्सी उत्साहपूर्ण छ । तर, हाल नेपालमा ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने होटेल क्षमता छ ।

पर्यटक आगमन राम्रो देखिए पनि होटेल व्यवसाय एकतिहाइ मात्र सञ्चालनमा आएको उनी सुनाउँछन् । ‘‘जति पर्यटक आएका छन्, त्यसको तीन गुणालाई हामीले सर्भिस दिन सक्छौँ,” उनी भन्छन्, ‘‘बजारमा सप्लाई एन्ड डिमान्डको कुरा हुन्छ । हामीसँग ३५ लाख पर्यटक बस्न सक्ने होटेलको क्षमता छ, सरकारको लक्ष्य १० लाख छ । यो हाम्रो क्षमताको एकतिहाइ मात्र उपयोग भइरहेको छ ।”

पर्यटक आगमन तेब्बर वृद्धि भए पनि थेग्न सक्ने पूर्वाधार तयार रहेको उनी बताउँछन् ।

कोभिड–१९ अघि २०१९ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमन बढाउन ‘मार्केटिङ’मा विशेष जोड दिनुपर्ने व्यवसायी मिश्रको भनाइ छ ।

“राम्रोसँग मार्केटिङ गर्ने हो भने नेपालमा पर्यटन क्षेत्रको भविष्य धेरै नै राम्रो छ । दुईवटा एयरपोर्ट छ, त्यसलाई नियमित उडान गर्नुपर्‍यो,” उनले थपे ।

जस्तोसुकै परिस्थितिमा पनि पर्यटन क्षेत्र एकै लयमा लैजानुपर्ने चुनौती रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘‘भलै, हामीले जुन लयमा माथि लैजानुपर्ने हो, त्यसअनुरूप लैजान सकेका छैनौँ । अर्थतन्त्रका निम्ति पर्यटन क्षेत्र मेरुदण्ड नै हो ।”

पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र प्रचारप्रसारका निम्ति सार्वजनिक–निजी साझेदारी पब्लिक–प्राइभेट पार्टनरसिप – पीपीपी मोडलमा काम गर्नुपर्ने उनको धारणा छ । दुवै क्षेत्रले हातेमालो गरेर काम गरे विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने मिश्र बताउँछन् ।

“विशेष मार्केटिङमा जोड दिनुपर्छ, त्यसो नगरी केही पनि हुँदैन,” उनी औँल्याउँछन्, “मसँग माउन्ट एभरेस्ट छ, मसँग एकसिंगे गैडा छ भनी बसेमा पर्यटक आउँदैनन् । पर्यटक ल्याउन विश्वबजारमा मार्केटिङ गर्न जरुरत छ ।”

युरोपेली मुलुकमा ‘कनेक्टिभिटी’ बढाउन जोड दिनुपर्ने उनी बताउँछन् । “टर्किस एयरलाइन्सबाहेक हामीसँग युरोपमा कनेक्सन नै छैन,” उनी भन्छन्, ‘‘युरोपबाट नेपालमा उडान भर्ने पहल गर्नुपर्‍यो ।’’

नेपाल एयरलाइन्सले युरोप जोड्ने, सिंगापुर र मलेसियामा फ्लाइट बढाउने, छिमेकी राष्ट्र भारत र चीनसँग पनि कनेक्टिभिटी जोड्न सके पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ छ ।

सरकारले पर्यटनको महत्त्व बुझ्नुपर्ने र निजी क्षेत्र पनि परिपक्व हुनुपर्ने मिश्र बताउँछन् । “सरकारले पर्यटन क्षेत्रको महत्त्व गहिरो गरी बुझिदिनुपर्‍यो । निजी क्षेत्र पनि पहिलेको भन्दा परिपक्व हुनुपर्‍यो ।’’

नेपालमा सरकारले पर्यटन क्षेत्रमा कहिल्यै लगानी नगरेको र सहजकर्ताका रूपमा मात्र काम गर्दै आएको उनको गुनासो छ । “जहाँ सरकार र निजी क्षेत्रले मिलेर काम गरेका छन्, त्यस्ता देशमा पर्यटन क्षेत्रमा विकास भएको छ,’’ उनी भन्छन् ।

पोखरामा पदयात्री पर्यटकको संख्या बढ्दै गएको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल टान पोखराका अध्यक्ष धर्मराज पन्थी भन्छन्, ‘‘पदयात्रा क्षेत्रमा आउने पर्यटकको संख्या कोरोनापछि यो वर्ष बढ्दै गएको छ । काठमाडौं–पोखरा सडक पूर्वाधार विस्तारका काम सकिएपछि पोखरामा पर्यटक आगमन बढ्ने विश्वास छ ।”

विमानस्थलमा उडान अवतरमा नयाँ रेकर्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरणमा नयाँ रेकर्ड बनेको छ । दसैँयता औसतमा दैनिक १०० अन्तर्राष्ट्रिय उडान भइरहेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार आन्तरिकतर्फ औसतमा दैनिक २७५ देखि २८० उडान अवतरण हुन्छन् ।

रोजगारी वा अध्ययनका निम्ति विदेश गएका नेपाली दसैँ, तिहार, छठलगायत पर्व मनाउन फर्किएका र पर्यटकीय सिजनका कारण उडान संख्या बढेको प्रवक्ता झा बताउँछन् ।

यो वर्ष अन्तर्राष्ट्रिय र आन्तरिक गरी दुवैतर्फ उडान संख्याले रेकर्ड तोडेको छ । यसअघि, सिजनको समयमा अन्तर्राष्ट्रियतर्फ औसतमा दैनिक ८०र८५ र आन्तरिकतर्फ २३०र२४० उडान अवतरण हुने गरेको थियो । पछिल्लो समय हवाईमार्ग हुँदै यात्रा गर्नेको संख्या बढेको छ ।

प्रवक्ता झाका अनुसार पहिले २० सिटे क्षमताका विमान थिए । पछिल्लो समय ७२ सिटे विमानहरूले उडान भरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवाले उडान गर्दै आएका छन् ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि नियमित सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीको माग छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com