काठमाडौं, ३० कात्तिक । धितोपत्र दोस्रो बजारमा सेयर खरिद–बिक्री गर्न सहयोग गर्ने ब्रोकर कम्पनीहरूले नै अहिले टेलिफोनका आधारमा प्रमोटर सेयर बिक्री गर्न लागेका छन् । यसरी आफ्नो आधिकार क्षेत्र बाहिर गएर ब्रोकरहरूले कम्पनीको प्रमोटर सेयर बिक्री गर्न आफ्ना ग्राहकको फोन नम्बर अन्य कम्पनीलाई दिने गरेको पाइएको छ ।
यसरी ग्राहकको फोन नम्बरको दुरूपयोग गरेर अग्रवाल सेक्युरिटिज, विराटनगर शाखा कार्यालयले प्रभु स्टिल एण्ड हाइड्रो इक्विपमेन्ट इन्ड्रष्ट्रिज लिमिटेडको प्रमोटर सेयर प्रतिकित्ता ११५ रुपैयाँमा बिक्री गर्न लागेको जानकारी गराउँदै ‘म्यासेज’ पठाउने गरेको छ ।
यो कम्पनीले संस्थापक सेयर यसरी नै फोन र म्यासेज गरेर १९ लाख ५० हजारभन्दा बढी कित्ता बिक्री गरिसकेको कम्पनीको सेल्स एण्ड मार्केटिङ विभागका कर्मचारी सुरेन्द्र श्रेष्ठले बताए । यो कम्पनीको प्रमोटर सेयर खरिद गर्न चाहनेले न्यूनतम एक हजार कित्ता खरिद गर्न आवेदन दिनुपर्ने उनी बताउँछन् ।
“यो कम्पनीको सेयर कारोबार ओटीसी मार्केटमा खरिद बिक्रीमा गएको छैन । तर, हामीले यसरी नै फोन र म्यासेज गरेर १९ लाख ५० हजार कित्ता प्रमोटर सेयर बिक्री गरिसकेका छौं,” उनले भने, “मंसिरको २० गतेसम्म बिक्री गरिसक्ने हाम्रो योजना छ । बिक्री सुरू गरेको करिब चार महिना भयो । हामीलेमात्र सेयर बेचेका छैनौं । अग्रवाल सेक्युरिटिज विराटनगर शाखाबाट र यही ब्रोकरको अर्को शाखाले सहयोग गरेको छ । ब्रोकरले आफ्ना ग्राहकलाई फोन गरेर रिकल गरिदिन्छ ।”
कम्पनीले चिन्दै नचिनेको मान्छेलाई पनि फोन गरेर सुरूमै प्रभुु कम्पनीले प्रमोटर सेयर खरिद गर्न आग्रह गर्छन् । सेयर प्रमाणपत्र कम्पनीले कसरी दिन्छ रु कम्पनी कस्तो छ रु भनेर पनि उनैले फोनमा ब्रिफिङ गर्छन् ।
प्रतिक्रिया दिनुहोस्