काठमाडौ १६ कात्तिक । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भइ सजाय काटिरहेका रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएको निर्णयविरुद्धको फैसला सर्वोच्च अदालतले आज सुनाउँदै छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने जानकारी दिएको हो ।
संविधान दिवसका अवसरमा गएको असोज ३ गते मन्त्रिपरिषद् बैठकले योगराज ढकालको आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको यो सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन ।
गएको असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि हिजोका लागि सुनुवाइ निर्धारण भएको थियो ।गएको असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्