काठमाडौं, २६ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फका सदस्य संख्या बाँडफाँड गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या निर्धारण गर्दै पाँच राजनीतिक दललाई पत्राचार गर्ने निर्णय गरेको हो।
आयोगको निर्णय अनुसार ४९ राजनीतिक दलमध्ये पाँच राजनीतिक दलले मात्रै सिट प्राप्त गर्न सफल भएका छन्।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार एक सय १० सिटमध्ये एमाले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६र६ सिट प्राप्त गरेका छन् ।
तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिका सिट सुरक्षित गरेका छन् ।
नेपालको संवैधानिक व्यवस्था अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ । सो आधारमा महिलाको सीट संख्या पुर्याउन एमालेले कम्तीमा ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ जना महिला पठाउनु पर्ने भएको छ।
आयोगले पार्टीहरु लाई निर्णय गरी माघ २९ गतेभित्र नामावली निर्वाचन आयोगमा पेश गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्