काठमाडौं, २१ असोज । कुमारी बैंकले खातावाल ग्राहक को खाताबाट विभिन्न सेवा नवीकरणको बहानामा शुल्क असुल्ने गरेको पाइएको छ।
ग्राहकको अनुमतिबिना बैंकले विभिन्न सेवा नवीकरणको बहाना देखाएर शुल्क असुल्ने गरेको पाइएको हो।
ग्राहकको अनुमतिबिना बैंकले एटीमएम कार्ड नवीकरण गर्ने र वार्षिक शुल्क लिने गरेको छ। खातावालले पहिलो पटक एटीएम कार्डको प्रयोग गर्दा ३ देखि ५ वर्षको समयावधि हुन्छ। सो अवधिका लागि ग्राहकले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने हुन्छ।
दोस्रो चरणको एटीएम नवीकरणको लागि ग्राहकले बैंकमा गएर नवीकरण फाराम भरेपछि मात्रै प्रक्रिया अगाडि बढ्नुपर्ने हो। तर, कुमारी बैंकले ग्राहकको अनुमति बिना नै नवीकरण गरिरहेको छ।
बैंकले आफूहरूको अनुमतिबिना नै भटाभट एटीएम नवीकरण गरेर शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ।
यस सम्बन्धमा कुमारी बैंकका सूचना अधिकारी विकास खनालसँग बुझ्दा उनी बैंकको रणनीति अनुसार नै कार्ड नवीकरण भइरहेको बताउँछन्। कार्ड नवीकरण नहुँदा नेपाल राष्ट्र बैंकले प्रश्न गर्ने हुँदा यसलाई अनिवार्य गरिएको उनले दाबी गरे।
यता, नेपाल राष्ट्र बैंकले भने ग्राहकको अनुमति लिएर मात्र एटीएम नवीकरण गराउनुपर्ने बताएको छ।
‘प्रयोग गरिरहेको कुरा नवीकरण हुनु राम्रो हो तर, सबैलाई एटीएम लिनुपर्छ भन्ने हुँदैन,’ राष्ट्र बैंकका सहप्रवक्ता डा।डिल्लीराम पोखरेलले भने, ‘ग्राहकको अनुमतिबिना नवीकरण गर्नु हुँदैन।’
‘ग्राहकले आवश्यक परे नवीकरण गर्न जान्छन्, आवश्यक नलागेको सेवा अनिवार्य नवीकरण गर्नुपर्छ भन्ने हुँदैन,’ पोखेरलको कथन छ।
कुमारीले तीन–तीन वर्षमा नवीकरण गर्नुपर्ने एटीएमको अवधि पाँच वर्ष पुर्याएको छ। त्यसमा पनि अनुमति वेगर नवीकरण गरी सेवा शुल्क बढाएर आफूहरूमाथि अन्याय गरेको ग्राहकहरू बताउँछन्।
‘मलाई एटीएम लिनुपर्ने जरुरी नै छैन। प्रायः सबै कारोबार अनलाइनबाट गर्छु,’ एक ग्राहकले भने, ‘अर्को बैंकको एटीएम पनि छ। डिजिटलाइजेसनको समय छ। धेरै एटीएम किन लिने भन्ने लागेर कुमारीको एटीएम नलिने सोचेको थिएँ।’
तर, एटीएम नवीकरण नगर्ने सोच बनाएकोमा बैंकले आफूखुशी पाँच वर्षका लागि वार्षिक पाँच सय रुपैयाँ शुल्क काट्नेगरी एटीएम नवीकरण गरिदिएको उनले गुनासो गरे।
‘बैंकले पाँच वर्षको लागि नवीकरण गरिएको भन्दै शुल्क काट्यो’ उनले भने, ‘यो वर्षको ५०० रुपैयाँ लिइसक्यो। अब वार्षिक रूपमा ५०० रुपैयाँ काटिने भनेको छ।’








प्रतिक्रिया दिनुहोस्