काठमाडौं, १७ असोज । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी दिइएपछि मानन्धरकी पत्नी भारतीले काठमाडौंको माइतीघरमा अनसन सुरु गरेकी छन् ।
उनले बुधबारदेखि अनसन सुरु गरेकी हुन् । उनले आफूले न्याय नपाउन्जेलसम्म आन्दोलन जारी राख्ने बताएकी छन् । नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए ।
रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।
मृतक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा आजदेखि काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गर्ने घोषणा गरेकी थिइन् । ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने अवस्था आएको उनको गुनासो छ ।
रिगलको पक्षबाट पहिला पनि उक्त घटनालाई दबाउनका लागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाकधम्की दिएको उनको भनाई छ ।








प्रतिक्रिया दिनुहोस्