चीन, १२ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका छ् । सिचुआन प्रान्तको छन्दु पुगेका प्रधानमन्त्री प्रचण्डसँग यहाँ वाङले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आजै छन्दु आएका हुन । सो वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले छन्दु नेपालबाट नजिकको सहर भएकाले नेपाली व्यवसायीहरूको पनि केन्द्र रहेको भन्दै यहाँबाट नेपालले कृषि उत्पादन तथा कृषिजन्य उद्योगका क्षेत्रमा पनि आवश्यक मात्रामा लाभ लिन सक्ने बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले आफूले यस पटक चीनका राष्ट्रपति सि चिनफिङका साथै प्रधानमन्त्रीसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने अवसर पाएको र उनहरूले नेपाललाई दिएको महत्त्वबाट आफू प्रभावित रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले चीनले विज्ञान प्रविधि तथा भौतिक विकासदेखि लिएर धेरै क्षेत्रमा निकै नै महत्त्वपूर्ण प्रगति गरेकामा बधाई ज्ञापन गर्दै चीन नेपालको एक घनिष्ट मित्र रहेका नाताले सदैव नेपालको हित र विकास चाहने गरेको बताए ।चीनले नेपाललाई अप्ठेरो अवस्थामा पनि सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै यस पटकको चीन भ्रमणले दुई देशबीचको मित्रतालाई थप सुमधुर बनाउन काम गरेको र द्विपक्षीय सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको प्रधानमन्त्री प्रचण्डले सो द्विपक्षीय वार्तामा बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।सो वार्ताका क्रममा सचिव वाङले चीन र नेपालसँगै रहेको र अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एउटै आवाजका साथमा एकसाथ रहेको बताएका थिए । उनले चीन नेपालको सधैँ उन्नति र प्रगतिको पक्षमा रहेको र नेपालका आर्थिक सामाजिकलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताएका थिए ।उनले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सफल भएकामा बधाई दिँदै आगामी दिनमा नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्न तथा लगानी गर्न तयार रहेको बताए ।
सो वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता थियो । आजै साँझ प्रधानमन्त्री प्रचण्डको सम्मानमा सचिव सियाओइले रात्रिभोजको पनि आयोजना गरेका थिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले छन्दुमा रहेको पान्डा अनुसन्धान तथा प्रजनन केन्द्रको अवलोकन गरेका थिए ।प्रधानमन्त्री प्रचण्डर उनको भ्रमण दलका सदस्यहरू शनिबार छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् । उनको भ्रमण दलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्