काठमाडौं, ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयतालाई कमजोर नपारी झन् अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड राम्ररी नभएको पनि बताए ।
‘संघ, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँड गरेर मिलाउनुपर्छ,’ जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले भने,‘तीनै तहको अधिकार मिलेको छैन । यसलाई कसरी मिलाउन सकिन्छ, त्यसमा राजनीति दलहरू गम्भीर हुनुपर्छ ।’ उनले संघीयतालाई मजबुत र संस्थागत गर्न दलहरूबीच छलफलको आवश्यकता रहेको समेत बताए ।
‘संघीयता नियन्त्रित छ । अलिअलि अड्कलेर अधिकार दिइएको छ,’ राष्ट्रपति पौडेलले भने,‘दिल खोलेर अधिकार दिनुपर्छ । कञ्जुँस्याइँ नगर्नुस् । तपाईं आँट गर्नुभयो भने देशमा संघीयता अगाडि बढ्छ भनेर ओली, देउवा र प्रचण्डजीलाई बोलाएर राम्रोसँग भन्छु ।’ उनले देशलाई मिलाएर जानुपर्ने र सबैलाई समान अधिकार दिनुको विकल्प नरहेको समेत बताए ।
जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित विशेष समारोहमा उपमहानगरपालिकाका प्रमुख मनोज साहले राष्ट्रपति पौडेललाई दोसल्ला ओढाएर नागरिक अभिनन्दन गरे । राष्ट्रपति पौडेलले जनकपुरमा गरिएको नागरिक अभिनन्दनलाई जानकीको प्रसाद भनेर संज्ञा दिए । अभिनन्दनपछि बोल्दै उनले जनकपुर आएर आफूले जानकीको प्रसाद, प्रताप र आर्शिवाद पाएकोमा खुसी व्यक्त गरे ।








प्रतिक्रिया दिनुहोस्