ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलोपटक एक लाख २६ हजार रुपैयाँ कमाउँदै छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल


एबीसी न्यूज

काठमाडौं, २२ भदौं । शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स ड्रुक एयर को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ । दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा ड्रुक एयर पोखरामा अवतरण गर्दा यसले पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बन्ने छ ।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट केही नेपालीसहित पोखरामा सम्पन्न भइसकेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको उक्त चार्टर्ड विमान रित्तै फर्किएको थियो ।

ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ । विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट पहिलोपटक आम्दानी गर्ने छ ।

सञ्चालनमा आएको करिब आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो ।

नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णका अनुसार ड्रुक एयरले चार्टर्ड अवतरण गर्ने छ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् ।

करिब एक घण्टामा पोखराबाट ४२ जना यात्रु लिएर विमानले पारोका लागि उडान भर्ने छ । ती ४२ जना यात्रुबाट आउने विमानस्थल कर नै पहिलो आम्दानी हुने छ । जुन एक लाख २६ हजार हुन्छ ।

कर्ण भन्छन्, “एकजना उड्दाखेरि तीनहजार बुझाउँछन् । अर्को चाहिँ ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गरिरहेको छ, त्यसको १५ प्रतिशत हामीले पाउँछौँ । विमानस्थललाई आम्दानी हुने यो पहिलो उडान हो ।”

पोखराबाट पारोका लागि उडान भर्दा यात्रुहरू भने सबै विदेशी हुने छन् । विभिन्न युरोपेली देशका यात्रुहरू भुटानका लागि उडान भर्ने छन् ।

विमानस्थलले एक वर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङलगायतमा शुल्क मिनाहा गरेका कारण अतिरिक्त आम्दानी भने हुने छैन ।

ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानका लागि गत भदौ ११ गते प्राधिकरणसँग अनुमति मागेको थियो । प्राधिकरणले चार्टर्ड उडानको रिपोर्ट प्राप्त भएपछि ड्रुकले पारो–पोखरा–पारो दैनिक नियमित उडान गर्ने जनाएको छ । नियमित सफल भएमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने कम्पनीको योजना छ ।

नियमित उडान भएमा भुटानबाट आएको विमानले पोखरा आएर यात्रु थपघट गर्न सक्छ र दिल्ली एयरपोर्टसम्म जान सक्छ । त्यस्तै, दिल्लीबाट उडान थालेको विमानले पोखरा आएर यात्रु थपघट गरेर भुटानको पारोसम्म जान पाउँछ ।

एयरलाइन्सले हाल पारो–काठमाडौं सातामा सातवटा नियमित उडान गर्दै आएको छ ।

यता पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिनुपर्ने बताएका छन । प्रचण्ड असोज ४ गते चीन भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्रीको भ्रमण कार्यक्रममा पोखराका उद्योगी व्यवसायीले चीनको ऋण सहयोगमा बनेको विमानस्थललाई नै प्राथमिकता दिएर नियमित उडान गराउनुपर्नेतर्फ पहल गर्नुपर्ने बताएका छन् ।
गत साता पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्रीलाई व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा नै भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

आफूहरूले प्रधानमन्त्रीले चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो एजेन्डामा राख्नुपर्ने बताएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए ।

उनले भने, “विमानस्थल सञ्चालनको विषय प्रधानमन्त्रीले एजेन्डा बनाउनुपर्छ भन्ने हाम्रो माग हो । विमानस्थलको ऋण तिर्न मात्र होइन, हाम्रो पर्यटन बजार जोगाउन पनि पोखरा–चीन सिधा उडान आवश्यक छ ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको २२ अर्ब ऋण सहयोगमा बनेको हो । विमानस्थल बनाउँदा लागेको ऋण तिर्न सरकारले वार्षिक झन्डै एक अर्ब रुपैयाँ किस्ता तिर्नुपर्ने मुल्मीले बताए । ऋण सम्झौताअनुसार २६ किस्तामा ऋण तिरिसक्नुपर्ने छ ।

चिनियाँ पर्यटक र लगानीकर्ता पोखरामा आकर्षित गर्न पनि विमानस्थल सञ्चालन गर्नुपर्ने व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् । सरकारले विमानस्थल सञ्चालनमा ल्याउने र नेपालमा २०–२५ लाख पर्यटक ल्याउने उद्घोष गर्दा व्यवसायीले थपेको लगानी अहिले जोखिममा पुगेको उनले बताए ।

यस्तै, यही हप्ता पोखरा आएका अर्थमन्त्री प्रकाशशरण महतलाई पनि उनीहरूले विमानस्थलको बारेमा ध्यानाकर्षण गराएका थिए । उनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न सके अर्थतन्त्रलाई टेवा पुग्ने भन्दै अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com