काठमाडौ भदौ १४ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । भालुको आक्रमणबाट माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र २६ वर्षीय राजमान राई घाइते भएका भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । बुधवार हिजो दिउँसो काम गर्दै गरेका गुरुङ र राईलाई भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणबाट उनीहरूको अनुहार, टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये २६ वर्षीय राईको अवस्था गम्भीर रहेको अध्यक्ष वाङछेदरले बताए। घाइतेको गोला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको उनले बताए । निकुञ्जसँगको छलफलपश्चात् घाइतेको उपचार र बिरामी कुरुवाको खर्च बेहोर्ने सहमति भएको छ ।
मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बर्सेनि आधा दर्जनभन्दा बढी व्यक्ति भालुको आक्रमणबाट घाइते हुने गरेका छन् । निकुञ्ज क्षेत्रभित्र रहेको माङ्खिममा भालुको आक्रमण बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्