काठमाडौं, २४ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागी प्रदेश नम्वर २ बाहेकका अन्य प्रदेशमा मतदान जारी छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यले मतदान गर्न पाउनेछन् । उनिहरुका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ । सातै प्रदेशबाट छानिने ५६ मध्ये २४ सिटमा उम्मेदवारी मनोनयनकै क्रममा निर्विरोध भइसकेको छ । निर्वाचन आयोगका अनुसार आज ३२ सिटका लागि मतदान भईरहेको छ । त्यसका लागि ५२ जना चुनावी प्रतिस्पर्धामा छन् ।
आयोगले चुनाव हुन लागेका प्रदेशमा दुई दुई वटाको दरले १२ वटा मतदान केन्द्र निर्माण गरेको जनाएको छ । ती प्रदेशमा स्थानीय तहका १ हजार २ सय ३४ तथा प्रदेशसभाका ४ सय ४३ जना गरी १ हजार ६ सय ७७ मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरिएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि एमाले माओवादी केन्द्रले साझा उम्मेदवार उठाएका छन् । मधेशवादी र केही साना दलले कांग्रेससँग तालमेल गरेका छन् । २ नम्बरबाट चुनिने ८ जना सदस्य निर्विरोध भएकाले त्यहाँ चुनाव गर्न नपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्