काठमाडौं ३० साउन । नेताहरुसँग पत्रकारहरुले कहिले राजनीतिमा ‘हल्लिरहेको पात’ बारे प्रश्न सोध्छन्। कहिलेकाहीँ ‘न्युज कुकिङ’ का लागि ‘नहल्लिएको पात हल्लाउन’ पनि प्रश्न सोधिदिन्छन्।
पार्टी कार्यालय च्यासलमा आइतबार २८ साउन आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमाले नेतृत्वमा आउन निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले गरिरहेको कसरतबारे पत्रकारहरुले प्रश्न सोधे।
एमाले नेतृत्वका लागि पूर्वराष्ट्रपतिले गरेको वा उनलाई नेतृत्वमा ल्याउन एमाले पंक्तिबाट भित्रभित्रै हुन थालेको कसरतबारे पत्रकारहरुले सोधेको प्रश्न ‘नहल्लिएको पात हल्लाउन’ गरिएको प्रयास होइन भन्ने रहेछ भन्ने पुष्टि अध्यक्ष ओली आफैँले गरे।
जस्तो कि, यस्तो प्रयासलाई उनले ‘एमाले विभाजित गर्ने षडयन्त्र’ को रुपमा चित्रण गरे। ‘पार्टी नेतृत्वमा भण्डारीलाई ल्याउने प्रयास एमाले पंक्तिबाट भएको छैन’ वा ‘भण्डारी स्वयंमा यस्तो चाहना छैन’ भन्न ओलीले सकेनन्।
एमाले नेतृत्वमा आउने–ल्याइने प्रयासलाई ‘एमाले विभाजन गर्ने षडयन्त्र’ का रुपमा चित्रण गरेर ओलीले एक हिसाबले निर्वतमान राष्ट्रपति भण्डारीविरुद्ध फायर खोलेका छन्।
किनभने, ओलीको भनाइको अर्थ ‘भण्डारीलाई आफ्नो विकल्पमा अघि सारेर एमाले विभाजन गर्न खोजिँदैछ वा भण्डारी आफैँले एमालेको नेतृत्व गर्ने महत्वाकांक्षा राखेर विभाजनको रेखा कोर्न खोजेकी छन्’ भन्ने लाग्छ।
एमालेमा विद्या भण्डारीको खोजी, तर रोक्न चाहन्छन् अध्यक्ष ओली
ओलीको विकल्प
राजनीतिमा जब आफूलाई अप्ठेरो पर्न सुरु हुन्छ, तब विरोधीहरुमाथि अनेक आरोप लगाइन सुरु हुन्छ। ‘देश बेचुवा’, ‘राष्ट्रघाती’, ‘सुराकी’ देखि ‘पार्टी विभाजनकारी’ सम्मको आरोप लगाइन्छन्।
एमालेको नेतृत्व सम्हाल्न राष्ट्रपति भण्डारीको आवश्यकता कुनै एमालेविरोधी शक्तिले उठाएको होइन। ओली निकट एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा लगायतले माग गरेका हुन्।
थापाले एमालेभित्र मनोवैज्ञानिक एकताका लागि भण्डारीको आवश्यकता रहेको सार्वजनिक रुपमै बताएपछि भित्रभित्रै भइरहेको बहस सतहमा आएको हो।
कोपभाजनमा परिने डरले ओलीप्रति असहमत एमालेपंक्ति सार्वजनिक रुपमा ओलीको आलोचना गर्ने हिम्मत गर्न सक्दैन। तर, अनौपचारिक कुराकानीमा अधिकांश नेता–कार्यकर्ताहरु ओलीकै हठ र अहंकारका कारण ‘नेकपा’ र ‘एमाले’ को विभाजन भएको र दुई तिहाइ बहुमतको सरकार गुमाउनु परेको अस्वीकार गर्दैनन्।
पार्टी विभाजन, निर्वाचनमा पराजय त विगतका कुरा भए। कार्यकर्ता पंक्तिले पनि ओलीको नेतृत्वमा आगामी निर्वाचनमा एमालेको भविष्य राम्रो देखिरहेको छैन। राजनीतिमा ओलीको जादु चल्दैन भन्ने कुरा ‘मिसन ग्रासरुट’ कै छेकोमा भएको तीन क्षेत्रको उपनिर्वाचनमा एमालेको कमजोर प्रदर्शनले देखाइसकेको हो। उपनिर्वाचन परिणामले पुराना नेताप्रतिको वितृष्णा थप उजागर गर्यो। तर, नेतृत्व हस्तान्तरण सहज रुपमा होस् भनेर राखिएको ७० वर्षे उमेरहदको प्रावधान हटाउँदै ओली ‘आजीवन अध्यक्ष’ बन्ने बाटोमा लागे।
एमालेको केन्द्रदेखि वडा र टोलसम्मका नेता–कार्यकर्ताहरु अहिले पनि संगठन विस्तारमा सक्रिय छन्। तिनको खटाइ लोभलाग्दो छ। देशभर बलियो संगठन एमालेकै हो। तर गत आम निर्वाचनमा एमाले सिट संख्यामा पहिलो दल बन्न सकेन। तीन क्षेत्रमा भएको उपनिर्वाचनमा त उसले दोस्रो दलको हैसियत समेत जोगाउन सकेन।
मिश्रित निर्वाचन प्रणालीका कारण अब पनि कुनै दलले बहुमत प्राप्त गर्नसक्ने स्थिति छैन। २०६४ यता सरकार गठनका लागि आवश्यक बहुमत ०७४ को आम निर्वाचनमा प्राप्त भयो। तर, त्यो बहुमत एमाले र माओवादी केन्द्रबीचको एकताउन्मुख ‘वाम गठबन्धन’ कारण प्राप्त भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को उदय, काठमाडौँका बालेन्द्र शाह र धरानका हर्क साम्पाङहरुको लोकप्रियता आगामी निर्वाचनसम्म पनि उस्तै रहे पुराना र ठूला भनिएका दलहरुको भविष्यबारे केही भन्न सकिन्न। तर, विगतको गल्तीप्रति आत्मालोचना गर्दै ०७४ मा जस्तै गठबन्धन वा एकता गरेमा चाहिँ फेरि पनि त्यस्तो गठबन्धनले विजय हासिल गर्नसक्ने सम्भावना अझै पनि देखिन्छ।
तर ओली नेतृत्वमा रहुन्जेल एमालेसँग सहकार्य वा गठबन्धन गर्न प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी दुवै तयार देखिन्नन्। एकता वा गठबन्धन नहुने हो भने आगामी निर्वाचनपछि एमाले वा अन्य कुनै वामपन्थी दलको सरकार बन्न असम्भवप्रायः छ।
एमाले नेतृत्वमा विद्या भण्डारीको खोजी त्यही सम्भावित परिणामको चिन्ताले जन्माएको हो।
विद्याको सम्भावना
त्यही उपयुक्त विकल्प खोज्ने क्रममा निवर्तमान राष्ट्रपति भण्डारीको चर्चा एमाले पंक्तिमा चल्न थालेको हो। भण्डारीसँग भेटघाट र कुराकानी गरेका कतिपयको भनाइमा समग्र वामपन्थी एकताका लागि भण्डारीको सक्रियता र नेतृत्वको आवश्यकता रहेको बताउँदा भण्डारीको अनुहार उज्यालिने गरेको छ। यस्तो ‘बडिल्याङ्वेज’ मार्फत् उनले पार्टी नेतृत्वका लागि आफू तयार रहेको सन्देश दिने गरेकी छन्।
शीर्ष वामपन्थी नेताहरुबीच ओलीको छवि अत्यन्त अविश्वासिलो छ। त्यही कारण वामपन्थी एकता चाहने एमाले पंक्तिले भण्डारीलाई विकल्पका रुपमा खोजेको हो। एमाले–माओवादी केन्द्र–एकीकृत समाजवादी वा यी तीनमध्ये कुनै दुई दलबीच एकता हुनसक्ने सम्भावना रह्यो भने पनि नेतृत्व सम्बन्धी विषय सबैभन्दा जटिल बन्ने स्थिति छ।
एमाले पंक्तिले प्रचण्ड वा माधव नेपाललाई मुख्य नेतृत्वका रुपमा स्वीकार गर्दैन नै। तर, एमाले जतिसुकै ठूलो पार्टी भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादी पंक्तिले पनि ओलीको नेतृत्व स्वीकार गर्दैन।
ओली, प्रचण्ड र नेपालपछि दोस्रो तहका यस्ता नेताहरु समेत कुनै पार्टीमा देखिँदैनन्, जसलाई अर्को पार्टीको नेता–कार्यकर्ता पंक्तिले अध्यक्षका रुपमा स्वीकार गर्न सकोस्।
तर, राष्ट्राध्यक्षको अनुभव, पार्टी विभाजनमा प्रत्यक्ष कारक नरहेकाले भण्डारीलाई माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता–कार्यकर्ताले पनि अध्यक्षका रुपमा स्वीकार गर्न सक्छन्। मदन भण्डारीको विरासतका कारण पनि उनी सर्वस्वीकार्य हुन सक्छिन्।
भण्डारीलाई विकल्पका रुपमा हेरिनुको अर्को कारण पनि छ। भण्डारी अघि बढ्दा नेतृत्वमा टिकिरहन ओलीले फालेका अस्त्रहरु स्वतः कमजोर हुन पुग्छन्।
जस्तोः केही नेताहरु ओलीको उत्तराधिकारी त बन्न चाहन्छन्। तर, उनीहरुबीच मिल्ती भने छैन। बरु अदृश्य संघर्ष छ। त्यो संघर्ष एमालेको दशौँ महाधिवेशनमै देखिएको हो।
महाधिवेशनमा ईश्वर पोखरेल र सुवास नेम्वाङ एकअर्कोलाई ‘वरिष्ठ उपाध्यक्ष’ मान्न तयार थिएनन्। महासचिवमा यस्तै प्रतिद्वन्द्विताको स्थिति विष्णु पौडेल र शंकर पोखरेलबीच थियो।
भर्खरको पार्टी विभाजनलाई देखाएर ओलीले जसोतसो ईश्वर पोखरेल र सुवास नेम्वाङ, शंकर पोखरेल र विष्णु पौडेलको व्यवस्थापन गरे पनि उनीहरुबीच प्रतिद्वन्द्विता अझै छँदैछ। यीमध्ये कुनैले आगामी महाधिवेशनमा आफूलाई चुनौती दिन खोजे भने ओलीले अर्कोलाई सहजै प्रयोग गरिदिन सक्छन्।
तर, भण्डारी नै अघि बढेको खण्डमा ओलीलाई त्यसरी ‘खेल्न’ कठिन हुनसक्छ। बरु, मदन भण्डारीको विरासतका कारण उनीसँगको प्रतिस्पर्धा ओलीलाई कठिन हुनेछ।
एमाले नेतृत्वमा भण्डारीको आगमनले वाम एकताको ढोका फेरि सहजै खुल्नसक्छ। ओली नै नेतृत्वमा नरहेपछि माधव नेपाल र झलनाथ खनाललाई एमालेसँग पार्टी एकता गर्न अप्ठेरो हुनेछैन।
जहाँसम्म प्रचण्ड वा माओवादी केन्द्रको प्रसङ्ग हो, अहिले पनि ओलीपछि भण्डारीसँग राम्रो सम्बन्ध भएका नेता प्रचण्ड नै हुन् भन्ने गरिन्छ। २०७४ को निर्वाचनपछि प्रचण्ड र पत्नी सीतासहित उनीहरुका सम्पूर्ण छोरी–ज्वाइँ र नातिनातिनालाई समेत शीतल निवासमा बोलाएर डिनर दिएपछि यी दुई परिवारबीचको निकटता बाहिर आएको थियो।
यी सब कुरा ओलीले नबुझेका छैनन्। भण्डारी अघि सर्दा आइपर्ने चुनौती उनले बुझेका छन्। त्यसैले एमाले नेतृत्वमा भण्डारीको चर्चालाई ‘पार्टी विभाजनको प्रयास’ का रुपमा चित्रण गर्दै पहिलो पटक भण्डारीविरुद्ध फायर खोलेका हुन्।
प्रतिक्रिया दिनुहोस्