काठमाडौ साउन २९ । आज हिजोअस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असर कम हुँदै गएकाले हिजो अस्तिको जस्तो आज अति ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । तर, मनसुन सक्रिय रहेकाले आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अति ठूलो वर्षाको सम्भावना नरहे पनि बाढी पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन मौसमिवद्को आग्रह छ ।
हिजोअस्तिकै पानीले जमिन गलिसकेको र नदीमा पानीको सतह बढिरहेकाले हल्कादेखि मध्यम वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन भनिएको हो । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । गएराति डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । यी क्षेत्र भइ बहने कर्रा, मोहना, खुटिया, दोदा, चौदर, रङ्गुन लगायत ठूला तथा साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । त्यसैगरी नारायणी नदीले सतर्कता तह पार गरेको छ । बाढीको जोखिम रहेकाले चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रमा रहेकालाई आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।








प्रतिक्रिया दिनुहोस्