काठमाडौं, २४ साउन । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेश र संघीय संसद्मा अवरोधबाट उत्पन्न गतिरोधलाई लिएर तीन दलका शीर्ष नेता बुधबार फेरि बालुवाटारमा जुटेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि अवरुद्ध गरेको संसद् बैठक मंगलबार सञ्चालन भए पनि फेरि गतिरोध देखिएपछि नेताहरु संवादमा जुटेका हुन्।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तीन दलका शीर्ष नेताहरुबीच लामो वार्ता भएको हो।
सामूहिक छलफलका क्रममा कांग्रेस नेताहरु कृष्ण सिटौला र रमेश लेखक पनि सहभागी थिए।
गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद अवरोध गरिरहेको छ।
तर मंगलबार संसद्मा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल उच्चस्तरीय समिति बनाउन नसकिने जवाफ दिएका छन्।
अहिले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले अनुसन्धान गरिरहेकले अर्को समिति बनाउँदा समस्या हुने उनको तर्क थियो। तर गृहमन्त्रीको जवाफमा चित्त नबुझाएको एमालेले बुधबार पनि अन्तिममा संसद्मा अवरोध गरेपछि सभामुखले आजसम्मलाई स्थगित गरेका छन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।
तीन नेताबीचको वार्तापछि बालुवाटारमै प्रचण्ड र ओलीबीच अलग्गै संवाद भएको बताइएको छ। तर यी दुई नेताबीचको संवादको विस्तृत विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन्।
पछिल्लो समय ललिता निवासको सरकारी जग्गा हडप्नेहरुविरुद्ध सीआईबीले नै अनुसन्धान गरिरहेको छ।
त्यहीक्रममा सीआईबीले असार १२ गतेयता १९ जनालाई हिरासतमा लिएको छ। तर यसबीचमा सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नीतिगत निर्णय गर्नेविरुद्ध पनि छानबिन अघि बढाउन आदेश दिएपछि चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।
सर्वोच्चको आदेशअनुसार नीतिगत निर्णय गर्नेमाथि छानबिन हुँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराई पनि तानिने सम्भावना बढेको छ।
अध्यक्ष नेपाल नेपाली कांग्रेस र माओवादीसहितको सात दलीय गठबन्धनमा छ। सत्तामा पनि रहेको यो पार्टी नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चामा पनि छ।
सर्वोच्चले आइतबार आदेश दिएलगत्तै युरोप भ्रमणमा निस्किएका अध्यक्ष नेपाले स्विटजरल्यान्ड पुगेर आफूले कुनै गल्ती नगरेको भन्दै अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।








प्रतिक्रिया दिनुहोस्