काठमाडौं, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा अघि उपराष्ट्रपति रामसहायप्रसाद यादवले चीनको भ्रमण गर्ने भएका छन् ।
उपराष्ट्रपति यादव सातौँ चाइना–साउथ एसिया एक्स्पो र २७औँ चाइना कुनमिङ इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन चीन जान लागेका हुन् ।
एक्स्पो साउन ३१ देखि भदौ ३ गतेसम्म चीनको कुनमिङमा आयोजना हुनेछ ।
एक्स्पोमा सहभागी हुन उपराष्ट्रपति यादवको टोली साउन २९ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
“चीन भ्रमणको लागि उपराष्ट्रपतिज्यूलाई निमन्त्रणा प्राप्त भएको छ । भ्रमणको बाँकी तयारी परराष्ट्रले गर्दै छ,” उपराष्ट्रपतिका स्वकीय सचिव आनन्दप्रसाद यादवले बाह्रखरीसँग भने ।
उपराष्ट्रपति भएपछि यादवले गर्न लागेको यो पहिलो विदेश भ्रमण हो । उपराष्ट्रपतिको चीन भ्रमणमा केही मन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुनेछन् । उपराष्ट्रपतिको भदौ ५ गते चीन भ्रमणबाट फर्कने कार्यक्रम छ ।
परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल उपरराष्ट्रपति फर्केको एक महिनापछि चीन जानेछन् । प्रधानमन्त्री दाहालले असोज ६ गतेदेखि चीनको भ्रमण सुरु गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया दिनुहोस्