काठमाडौ साउन २३ । बर्दियाको ठाकुरबाबा नगरपालिका डुबानमा परेको छ ।स्थानीय खोला र बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाढीका कारण ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २, ७ र ८ मा पर्ने विभिन्न गाउँका ६० वटाभन्दा बढी घर डुबानमा परेका हुन् । नगरपालिकाको वडा नम्बर २ मा पर्ने आम्बासा गाउँका ३५ वटाभन्दा बढी घर डुबानमा परेका वडा नम्बर २ का वडाअध्यक्ष कमल चपाईँले बताए ।
यस्तै, वडा नम्बर ७ को कर्मेला टोल र ८ भुडकैया कालीगौडी आसपासका टोलका केही घर डुबानमा परेका नगरपालिकाकी उपमेयर विनाकुमारी भट्टराईले जानकारी दिए ।नगरपालिकाबाट मेयर तिलकराम लम्साल, उपमेयर विनाकुमारी भट्टराईसहित वडाअध्यक्ष, वडा सदस्य, स्थानीय समाजसेवी र स्थानीयबासिन्दाहरु डुबानमा परेकाहरुको उद्धारमा खटिएका छन् ।
डुबानमा परेकाहरुलाई रोबर बोटको सहायतामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । यस्तै, गएरातिदेखिको अविरल वर्षाले बबई नदीमा पानीको सतहले खतरा तह पार गरेकाले दिउँसो २ बजेसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्