काठमाडौ साउन २१ । कुनै बेला काठमाडौँमा ‘गुण्डाराज’ चल्थ्यो । गुण्डाराज अन्त्य गर्न प्रहरीले गोली चलाउने नीति लियो । २०७१ र २०७२ मा प्रहरीको कारबाहीमा कहलिएका गुण्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ मारिए । इन्काउन्टरसँगै साजन महर्जन र अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘गुण्डाराज’ विरुद्ध प्रहरीले निर्मम अपरेसन सुरु गरेसँगै गुण्डाहरूले उपत्यका छाडेका थिए । प्रहरीको ‘हिट लिस्ट’का गुण्डा दावा लामा लामो समय सिक्किममा गएर बसे ।
अहिले दावा काभ्रेको भुम्लु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन् । दावा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
२०७१ साउन २१ मा काठमाडौँको भीमढुंगामा तत्कालीन अपराध महाशाखाको टोलीले दिनेश अधिकारी ‘चरी’माथि गोली प्रहार गरेको थियो । चरी नेकपा एमाले धादिङ क्षेत्र नम्बर–१ का पूर्व उपाध्यक्ष थिए ।२०७२ भदौ ३ मा प्रहरी इन्काउन्टरमा कुमार घैँटे मारिए । त्यसयता भागेका र चुपचाप बसेका गुण्डाहरू काठमाडौँमा फेरि सलबलाएका छन् ।
पछिल्लो समय गुण्डा सलबलाएका दुई वटा घटना यस्ता छन्
घटना १ स् २०७९ जेठ २६ मा दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले बालुवाटार बस्ने प्रतिष भास्कर सिंहलाई आक्रमण गरे । आक्रमणमा संलग्न थिए काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा समेत ७ जना ।
घटना २, २०७९ असोज २५ मा प्लाटिनम क्लबका दुई जना बाउन्सरलाई योजनाबद्ध खुकुरी प्रहार । बिहान ४ बजेतिर ड्युटी सकेर फर्किँदा बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा गएका ८ जनाले खुकुरी प्रहार गरे । रामेछाप घर भएर रामहिटी बस्ने विकाश श्रेष्ठ समेतले क्लब अगाडिबाट उनीहरूलाई फलो गरेर लैनचौरबाट अगाडि बढेपछि सोह्रखुट्टे ओरालोमा कुरेर बसेका थप युवाहरू मिलेर आक्रमण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०७९ भदौ २३ मा क्लबमा बाउन्सरसँग भएको झगडाको कारण उनीहरूले आक्रमण गरेका हुन् ।
घटनामा संलग्न दोलखाका जीवन तामाङ, प्रदीप लामा, रामेछापका विकाश श्रेष्ठ, काभ्रेका जितेन्द्र लामा, सिन्धुपाल्चोकका राजेन्द्र कार्की र दावादोर्जे लामा उर्फ च्याङ्बा पक्राउ ।काठमाडौँमा गुण्डागर्दीबारे अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरू पछिल्लो समय काठमाडौँमा गुण्डागर्दी बढेको स्वीकार्छन् । क्लबहरूमा धम्क्याउने र हप्ता असुलीका घटना बिस्तारै बढ्न थालेका छन् । पुराना नाम चलेका गुण्डाहरू ठेक्कापट्टा र राजनीतिमा लागेपछि नयाँ गुण्डाहरूले बिस्तारै काठमाडौँमा साम्राज्य बनाउन खोज्दैछन् ।गुण्डागर्दी बढिसकेको अवस्था नभए पनि ‘बढ्न सक्छ’ भन्नेमा प्रहरी चनाखो रहेको बताउँछन् उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा। मनोज केसी । उनी भन्छन्, ‘असार १५ मा ओम्निया क्लबको घटनापछि हामी निर्मम हुनुपर्छ भन्ने भएको छ ।’







प्रतिक्रिया दिनुहोस्