काठमाडौ असार १६ । सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गरिरहेको प्रमुख विपक्षी नेकपा एमालेलाई सत्तापक्षकै नेताहरूले साथ दिएका छन् ।सरकारले उच्चस्तरीय छानबिन समिति वा आयोग बनाउने सहमति जनाएमात्र संसद चल्न दिने भनिरहेको एमालेलाई माओवादीकै नेता वर्षमान पुनलगायतले पनि अडानबाट पछि नहट्न भनिरहेका छन् ।पुनले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरीलगायतका नेतासँग अनौपचारिक संवादमा उच्चस्तरीय छानबिन समिति गठनको पक्षमा आफू पनि रहेको भन्दै अडानमा कायम रहन आग्रह गरेका हुन् ।
त्यसो त नेता पुनले सुन तस्करीमा आरोपित व्यक्तिसँगको आफ्नो पुरानो फोटोसमेत राखेर समाचार आएपछि माओवादी पदाधिकारी बैठकमै उच्चस्तरीय आयोग गठनको प्रस्ताव राखेका थिए ।एमाले संसदीय दलका एक पदाधिकारीले भने, ‘सरकारका अर्थ र गृहमन्त्रीमाथि नै प्रश्न उठेकाले उनीहरूले गर्ने छानबिनबाट तस्करीको सत्य तथ्य बाहिर आउँदैन भन्नेमा लगभग सबै दल सहमत भएका छन् । कांग्रेस, जसपालगायत सत्तापक्षका सांसदहरूले त साथ दिएकै थिए अब माओवादीकै पनि केही नेताहरुले खबरदार अडान छाड्नुहोला भन्न थालेका छन् । त्यसैले उच्चस्तरीय छानबिन आयोग गठनबाट पछि हट्ने अवस्था छैन ।
’विगत करिब ४ महिनाको अवधिमा ३० क्वीन्टलभन्दा बढी सुन विमानस्थलबाट निर्वाधरूपमा बाहिरिएको प्रारम्भिक निष्कर्ष छ । त्यसैले यो प्रकरणको जरैसम्म पुग्न पूर्व वा वहालवाला न्यायाधीशको अध्यक्षतामा विज्ञहरू सम्मिलित उच्चस्तरीय आयोग वा समिति गठन गर्नुपर्ने एमालेको अडानमा सत्तापक्षकै नेताहरूले साथ दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।उच्चस्तरीय छानबिनको प्रतिबद्धता सरकारबाट नआएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने एमालेले भनेपछि सोमबारको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । आज पनि सरकारबाट उच्चस्तरीय छानबिनको प्रतिबद्धता नआए सदनको नियमित कारबाही अघि बढ्न नसक्ने एमालेका प्रमुख सचेतक गिरीले बताए ।







प्रतिक्रिया दिनुहोस्