काठमाडौ साउन ८ । सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो ३ घण्टायता फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको हो ।जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सो क्षेत्र भई बहने खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन आह्वान गरेको छ ।आज बिहान इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ ।
सो वर्षाले झापाको बिरिङ लगायतका खोलाहरूमा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।अहिले नेपालमा मनसुन सुषुप्त अवस्थामा छ । तर स्थानीय प्रणालीका कारण बिकसित बादल देशभर घुमिरहेकाले एक(दुई स्थानमा भारी वर्षा भएको मौसमविद विनोद पोखरेलले जानकारी दिए ।मनसुनी वर्षा गराउने न्यून चापीय प्रणालीको रेखा हाल नेपालबाट दक्षिणतर्फ भारतको आकाशमा अवस्थित भएकाले नेपालमा केही दिनयता कम पानी परेको छ । भारतमा भने भारी वर्षा भएको छ । यमुना नदीको जलस्तर फेरि बढेर डुबानको खतराको सूचना जारी गरिएको छ ।
भारतीय मौसम विज्ञान विभागले हावाहुरीसहित भारी वर्षा हुनसक्ने भन्दै तटीय क्षेत्रमा नजान आग्रह गर्दै सूचना जारी गरेको छ ।हाल नेपालभर आंशिकदेखि सामान्य बदली मात्र छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति र भोलि गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्