काठमाडौ, साउन ७ । पूर्वी पहाडी जिल्ला भोजपुरमा हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको छ । समयमा पानी नपरेको र लम्की स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित भएको हो ।कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले जिल्ला हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको बताउनुभयो । उनका अनुसार गत वर्ष अहिलेको समयसम्म ७६ प्रतिशत रोपाइँ सम्पन्न हुने गर्दथ्यो । “समयमा वर्षात् नभएको कारण रोपाइँमा त ढिलाइ थियो नै, फेरि पशुचौपायामा देखिएको लम्की स्किनका कारण पनि रोपाइँमा यस वर्ष ढिला भयो”, उनले भने ।
जिल्लामा १८ हजार ९२ हेक्टरमा धानखेती रोपाइँ हुन्छ भने जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ६२ हजार दुई सय ९९ छ । कार्यालयको तथ्याङ्कानुसार अहिलेसम्म करिब ११ हजार सात सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जिल्लामा अझै पनि ३५ प्रतिशत धान रोपाइँ हुन बाँकी छ । कृषक कुमार खड्काले समयमा वर्षात् नहुँदा र लम्पी स्किन रोगबाट गोरु मरेपछि रोपाइँ गर्न ढिला भएकोे बताउनुभयो । उgले भने, “ समयमा पानी परेन ,फेरि रोपाइँ गर्ने समयमा गोरुमा पनि रोग देखापर्यो ।”
आकाशे पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता रहेका कृषकलाई भने रोपाइँमा बढी समस्या हुने गरेको छ । “रोपाइँका लागि कृषक खेतीमा व्यस्त थिए । पानीको समस्या भए पनि कुलो भएकोठाउँमा त रोपाइँ गर्न सकिन्थ्यो, सोही बेला पशुचौपायामा लम्की स्किन रोगले गोरु नै मर्ने अवस्था आयो । यसका कारण पनि समयमा रोपाइँ सम्पन्न हुन सकेन”, कृषक रणबहादुर थापाले भने ।जिल्लामा पछिल्लो समयमा हात्ते ट्र्याक्टरको समेत प्रयोग बढे पनि सबै खेतमा ट्र्याक्टरले धान रोपाइँ नहुने भएकाले रोपाइँमा समस्या देखिएको कृषि ज्ञान केन्द्र जनाएको छ । कार्यालयका अनुसार जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानी, याकुलगायतका क्षेत्र धानका लागि पकेट क्षेत्र मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्