देशको सवैभन्दा संवेदनशील क्षेत्र नै एयरपोर्टलाई मानिन्छ । तस्करीका हिसाबले मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको ज्यानको सुरक्षा, विश्व आतंकवाद, लागूऔषध, माफियागिरी लगायतका कारणले पनि अति संवेदनशील ठाउँ हो, एयरपोर्ट । त्यही भएर सिंगो बटालियन सुरक्षाकर्मी तैनाथ गरिन्छन् । अध्यागमन, राष्ट्रिय अनुसन्धान, प्रहरी प्रशासन, भन्सार, राजस्व अनुसन्धान लगायतका थुप्रै निकाय भन्सार चेकजाँच प्रक्रियामा चौबीसै घण्टा खटिएका हुन्छन् । एअरपोर्टजस्तो संवेदनशील ठाउँबाट एकाध ग्राम होइन, सय केजी सुन दिनदहाडै ‘सबै प्रक्रिया पूरा गरेर’ बाहिर निस्कन्छ भने त्यो मुलुकको कर्मचारी प्रशासन र सरकारले होइन, कुनै माफिया र तस्करले सञ्चालन गरेको छैन कसरी भन्न सकिन्छ ? कुनै बेला अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती छिराइदिन सक्छु भनेका थिए । त्यसको अर्थ हो एयरपोर्टमा कार्यरत सकल दर्जाका कर्मचारीगण, सुरक्षा यन्त्र पैसामा बिक्छन्, पैसा पाएपछि उनीहरू आफ्नो धर्म, नैतिकता, मुलुकप्रतिको कर्तव्य सबैलाई तिलाञ्जलि दिन पछि हट्दैनन् ।
शोभराजले भन्नु र सुन प्रकरणहरू हिन्दी सिरियल जसरी नै बाहिर आउनु कदाचित् संयोग हुन सक्दैन । यो नियोजित नै हो भन्न सकिन्छ । सय किलो सुन आउँदैछ भनेर पहिले नै जानकारी भएकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीलगायत सुरक्षा निकायलाई जानकारी थियो र नै पक्रियो। शरीरको पेटभित्रको आन्द्रामा क्याप्सुल बनाइ ल्याउने डलर, लागूऔषध एक्स रे मेसिनबाट थाहा हुन्छ । सुनलाई अरु जुनसुकै वस्तु वा पदार्थले लेपन गरे पनि त्यो थाहा हुन्छ । थाहा नहुने भन्ने प्रश्न नै हुँदैन । थाहा पाइएन भन्न पनि पाइँदैन । अब प्रश्न आउँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपसचिव तहका भन्सार प्रमुख, थुप्रै शाखा अधिकृत, नासु र खरिदारहरूलाई सबैको आँखा एक साथ त छलिएन होला ?विदेशबाट आउँदा एउटा अतिरिक्त मोबाइल फोन नछाड्ने भन्सारले त्यति धेरै परिमाणको सुनलाई मोटर साइकलको पाट्र्स भन्दै छाड्नुको रहस्य तलदेखि माथिसम्मको सेटिङ रहेको मान्न सकिन्छ । एक अर्ब भन्दा बढीको सुन तस्करी एउटा उपसचिव वा एउटा अधिकृत वा नासु वा भनौं खरिदारको मुटुले मात्र धान्न सक्ने विषय होइन ।
यी कर्मचारीलाई माथिबाट राजनीतिक संरक्षण वा ढाडसबिना यिनीहरूले यति धेरै ठूलो जोखिम पक्कै पनि लिएनन् होला ? ‘परिआएमा हामी छौं’ भन्ने उच्च तहको आश्वासनबिना ती कर्मचारीहरूलाई दशाले कुतकुत्याएन होला ? र काठमाडौंका अधिकांश धनाढ्य र पैसावाल व्यापारीहरूको लघु इतिहास हेर्ने हो भने एयरपोर्टबाट सुन तस्करी नै उनीहरूको आर्थिक सफलताको भ¥याङ थियो । दरबारसँगको साँठगाँठमा आउने सुन दरबारलाई पनि भागबण्डामा सामेल गरेपछि सुनपानी छर्केसरह ‘पवित्र’ हुन्थ्यो । अहिले बहुदलका केही ठूला भनिएका नेताहरू पनि सुनकाण्डमा मुछिएकै हुन् । त्यही सुन तस्करी गरेर उनीहरूको आर्थिक र राजनीतिक हैसियत बढेको हो, सबैले बिर्सेका छैनन् । यहाँ मौका नपाउँदा मात्रै सबै नेता, मन्त्री, सचिव, महानिर्देशक, हाकिम ‘चोखा र इमान्दार’, मौका पाएपछि सवैको नियत उही हो । विगतमा प्रक्राउ गरिएको ३३ किलो सुनको मुख्य नाइके खोई ?त्यतिमात्र होइन ३३ किलो सुन नै हरायो भन्ने नाटक भएको देश पनि नेपाल नै होइन र ? पक्राउ पर्छन् एजेन्ट र भरिया, त्यसका मालिक जहिल्यै गोप्य राख्ने ? कहिलेसम्म देश लुटिरहने ? पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणबाहेक सुन तस्करीमा राजनीतिक नेतृत्व संलग्न भएको पुष्टि प्रहरी र राजस्व अनुसन्धान विभागले गर्न सकेको अवस्था छैन। तर पनि विभिन्न समयमा बनेका आयोग र प्रतिवेदनमा भने राजनीतिक दल निकट नेता कार्यकर्ता सुन तस्करीमा संलग्न रहेको तथ्य कायमै छ । पछिल्लोपटक तस्करले हङकङबाट काठमाडौं सुन ल्याए पनि यसमा कोको संलग्न छन् भन्ने कुरा विगतको जस्तै छानविन एक चरणमा पुगेपछि रोकिने त हैन भन्ने आम रुपमा प्रश्न उठेको छ । नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन । बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन् ।
पछिल्लोपटक भारत लैजाने तयारीमा रहेको करिब सय किलो सुन बुधबार काठमाडौंको सिनामंगलबाट बरामद भए पनि राजनीतिको जलप लगाइएका कारण यसका वास्तविक खेलाडी पत्ता लाग्ने बारे जनतालाई विश्वास छैन । वहालावाल गृहमन्त्री र अर्थमन्त्रीले के गरेका छन् ? के यिनीहरुको जानकारी विना यति ठूलो तस्करी सम्भव छ भन्ने बारेमा जनताले प्रश्न गरिरहेका छन् । बारम्बार ठूलो परिणाममा तस्करीका सुन बरामद भइरहन्छन् । किनकि, यूएई, हङकङ वा सिंगापुरबाट नेपाल हुँदै भारतमा सुन पु¥याउन सकिएमा धेरै नाफा हुन्छ ।
त्यसैले, तस्करले यो काम गरिरहेको विभिन्न रिर्पाेटले देखाउँछ । अरू देशबाट सुन किनेर भारतमा लैजाँदा १८ प्रतिशतसम्म कर तिर्नुपर्छ । १५ प्रतिशत आयात शुल्क र ३ प्रतिशत आईजीएसटी –१८ प्रतिशत) शुल्क तिर्नुपर्दा महँगो पर्न जान्छ । त्यसैले, बढी नाफा कमाउने उद्देश्यले तस्करले भन्सार छलेर सुन भित्र्याउंछन् भन्ने सामान्य कुरा हो । भारतमा धेरैजसो यूएई, हङकङ र सिंगापुरबाट सुन तस्करी गरेर लगिन्छ । ट्रान्जिटको रूपमा नेपाल र बङ्गलादेश प्रयोग हुँदै आएका छन् । यूएई लगायतका केही देशमा सुनको खरिद जति पनि गर्न र संसारमा जहाँ पनि लैजान छुट छ । त्यहाँ कर नलाग्ने भएकाले सुन सस्तो पनि छ । र, यही कारण त्यहाँबाट तस्करले सुन किनेर नेपाल हुँदै भारत लैजाने गरिएको पटक पटकका प्रहरी अनुसन्धानले नै देखाएको छ ।
मुलुकमा बारम्बार दोहोरिइरहने यस्ता घटनाले मुलुकमा आपराधिक समूहको सक्रियता बढेको प्रष्टै हुन्छ । यसले सुन तस्करीको चुनौती झन्झन् बढिरहेको प्रष्ट हुन्छ । यदी यस्ता समुह र त्यसमा संलग्नको पहिचान गरी कारवाही गर्न नसके नेपाल आपराधिक गिरोह र तस्करको स्वर्ग बन्ने खतरा भएकोले पनि यस घटनाबाट यो सन्देश लिदै आफ्ना संयन्त्रहरुलाई जिम्मेवार रुपमा सञ्चालन गर्नुपनि उत्तिकै जरुरी छ । जहांसम्म तस्करहरुको कुरा हो, पक्राउ परेका सुनका वास्तविक मालिकहरुको पहिचान नहुनु र भरियाहरुमात्र कारवाहीमा पर्नु आफैमा आश्चर्यको विषय हो ।
यति धेरै परिमाणका अबैध सुन सामान्य व्यक्ति वा सानो कारोबारीले खरिद गरी ल्याउनै सक्दैन । त्यसमा पनि सबैतिर सेटिङ मिलाउने र सुरक्षित रुपमा प्राप्त गर्न सक्ने कुराको प्रबन्ध मिलाउनुपनि सहजै सम्भव विषय होइन । पैसाको चांजोपांजो कसरी मिल्छ ? यो सम्पत्ति शुद्धीकरण निवारणसंग पनि सम्बन्धित विषय हो । यसैले पक्राउ परेका भरिया र सहयोगीहरुसंग राम्ररी सोधपुछ गर्ने हो भने मुख्य अपराधीसम्म पुग्न कुनै कठिन हुनेछैन । कमजोर र अस्थिर शासन व्यव्स्थाको लाभ आपारधिक तत्वले लिने प्रयास गर्छन् नै । यसैले राज्यले यस विषयलाई गम्भीर रुपमा लिनुपर्छ भने हाम्रा सुरक्षा संयन्त्रको विशेष सक्रियता आवश्यक छ । आशा गरौं राज्यलाई नै चुनौती दिनेगरी भएको यो घटनालाई राज्य र सम्बन्धित निकायले गम्भीर रुपमा लिनेछन् । यसको अनुसन्धान गम्भीरतासाथ हुनेछ र सुन तस्करीमा संलग्न गिरोहहरुको पर्दाफास हुनेछ ।
प्रतिक्रिया दिनुहोस्