काठमाडौ, साउन ७ । नवलपरासी बर्दघाट–सुस्तापश्चिम बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । निः शुल्क उपचारका लागि नगरपालिकाकाभित्रका दुई सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।“अपाङ्गता भएकालाई स्वास्थ्योपचारमा सहज होस् भनेर निः शुल्क उपचारको सुरुआत गरेका हाँै”, उनले भने, “यसबाट उनीहरूलाई सहज हुनेछ भन्ने विश्वास लिएको छु ।
” नगर मातहतका अस्पतालले दिन भ्याउने सबै सेवा सुविधा निःशुल्क दिइनुका साथै अन्यत्र उपचार गर्न जानुपर्ने एम्बुलेन्स सेवासमेत छुट दिइने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । यो सुविधा २०८० साल साउनदेखि लागू गरिएको उहाँले बताउनुभयो । सामुदायिक अपाङ्ग सेवा केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले अपाङ्गता भएकालाई यसले थोरै भए पनि राहत पुर्याउने जनाउँदै नगरको निर्णय स्वागतयोग्य छ भने । विशेषगरी निलो र सेतो परिचयपत्र भएका भत्ता नपाउने अपाङ्गता भएकालाई यसले राहत मिल्ने उनको भनाइ छ । नगरपालिकाभित्र सात सय ७९ अपाङ्गता भएका व्यक्तिमध्ये चार सय ८७ जनाले परिचयपत्र लिएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्