काठमाडौं, ५ साउन । बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको १०० केजी सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन्।
नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल छिरेका हुन्।उनी दलबलसहित विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रमासमेत पुगेर अनुगमनमा जुटेका हुन्।
ठूलो टोलीसहित पुगेका गृहमन्त्री श्रेष्ठ भन्सार विभागका उपसचिव नारद गौतमले ब्रिफिङ गरेका छन्। उनले सामान जाँचपास हुने क्षेत्र र जाँचपासको विधिसहित विषयमा ब्रिफिङ गरेका हुन्। करिब एक अर्ब रुपैयाँको सुन बरामद भएपछि उपप्रम श्रेष्ठले बिहीबार भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलसँग सोधपुछ गरेका थिए।
उनले विमानस्थल सुरक्षाको विषयलाई लिएर वर्तमान पूर्व प्रहरी अधिकारीहरुसँग पनि छलफल गरेका थिए। अर्थ र गृहमन्त्रालय मातहतको विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको विषयमा श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको आलोचना भइरहेको छ।
करिब सय केजी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू भने बिदामा रहेको भेटिएको थियो। विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेल असार १७ गतेदेखि नै बिदामा रहेको भेटिएको थियो। भन्सार विभागका अनुसार उनले दुई महिना लामो बिदा लिएका थिए।
असार १७ गते देखि बिदा लिएका पोखरेलले भदौ १७ गते सम्मको लागि बिदा स्वीकृत गराएका थिए। यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्द ठकुरी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको थियो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उनले एकसाता लामो बिदा लिएका थिए। उनी बिदा बसेको भोलिपल्ट एक अर्बको अवैध सुन भित्रिएको हो।







प्रतिक्रिया दिनुहोस्