असार ५, रुपन्देही । बजार आउँदा सधैँ खोलामा लुगा भिजाउदै जानु पर्ने बाध्यता खोलामा पानीको बहाव बढ्नेबित्तिकै सरन गाऊ जाने बाटो अवरुद्ध, आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई एम्बुलेन्स जाने वैकल्पिक बाटो नहुनु, यी सब समस्या झेली रहेका सरनबारीका खड्गबहादुर सिञ्जाली मगरको मनमा सधै पिरलो हुने गर्थ्यो । मगर मात्र हैन सरनबासिको पहिलो आवश्यकता र प्राथमिकता थियो पुल ।
अहिले सरनबारीका स्थानीयलाई राहत मिलेको छ । रूपन्देहीको देवदह ७ शितलनगर देखि वडा नम्बर ६ सरनबारी जोड्ने घोडाहा खोलामा निर्माण भैरहेको झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगे पछि उनीहरूमा केही खुसी छाएको छ ।
करिब १ करोड बढी लागतमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम ९५ प्रतिशत सकिएको र यही महिना भित्रै सञ्चालनमा आउने स्मृति सामुदायिक वनका अध्यक्ष भरत कुमार गुरुङले जानकारी दिए। उनले भने ‘स्मृति सामुदायिक वनका समिति सबै पुल निर्माणमा लागि परेका छौ, अब लगभग काम सकिएको छ साउनको महिना भित्र पुलबाट वारिपारि गर्न पाइनेछ’। गुरुङका अनुसार झोलुंगे पुल निर्माण सम्पन्न भए सँगै स्मृति सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरिरहेको प्रस्तरकला सहितको स्मृति वन वाटिकामा पर्यटकको संख्या बढ्ने र आन्तरिक पर्यटन प्रबर्द्धन हुने विश्वास गरिएको छ।
झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछी स्थानीयलाई आवतजावतमा सहज हुने र सरनाबारीमा उत्पादित तरकारी लगायत बस्तुलाई बजार सम्म ल्याउन सहज हुने सरनबारीका स्थानीयले बताए ।
झोलुङ्गे पुल निर्माणको काम लगभग सकिएको र पक्की पुल समेत निर्माणको अन्तिम चरणमा रहेकोले निर्माण पश्चात पाल्पाको माथागढी गाउँपालिका सँग सिमाना जोडिएको सरनबारी गाउँ पर्यटकीय क्षेत्र समेत भएकोले पर्यटन प्रवर्दन र सर्वसाधारणको जीवनस्तर स्तरोन्नति हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्