काठमाडौं ३ असार । नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने धारणा राखेका छन्।
बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिन नहुने धारणा राखेका हुन्। यस विषयमा पुनःविचार गर्नुपर्ने उनको धारणा छ। यादवले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह समेत गरे।
‘मधेस भनेको नेपाली कांग्रेसको जननी हो । मधेसबाट नेपाली काँग्रेसको जन्म भएको छ । र मधेस बलियो जबजब भएको छ, तब तब नेपाली काँग्रेस सत्तामा गएको छ । यो हामीले बिर्सनुपर्ने कुरा होइन,’ उनले भने, ‘यो प्रदेश संरचना किन गठन गरियो रु सातवटा प्रदेशमा संरचना किन बनाइयो रु यदि यो प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीबिहिन बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ । हामी जिल्लैमा बस्न तयार छौँ।’
बैठकमा लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि कांग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले केन्द्रिय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको बताए।
यता, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको उल्लेख गरे। सरकार र पार्टीका बिचमा आपसी सहकार्य हुनुपर्ने भन्दै उनले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली कांग्रेसले बोकिरहेको एजेण्डाहरुको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको धारणा राखे। पार्टीको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै बानियाँले असन्तुष्टिसमेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्