काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका हुन्।
अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री लु १ दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं उत्रिएका थिए।
उनले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले अमेरिकी दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने बताइएको छ।
लुले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ।
उनले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा सीप प्रदान गर्न गरेका प्रयासबारे पनि बुझ्ने छन्।
उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए। गत वर्ष संसद्बाट पास भएको एमसीसी परियोजना कार्यान्वयनको समय नजिकिँदै गर्दा अमेरिकाले उच्चस्तरीय भ्रमण फेरि थालेको हो।
प्रतिक्रिया दिनुहोस्