काठमाडौ असार २९ । दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउँदै छन् । सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लुको भ्रमणको औपचारिक घोषणा गरेको हो । ‘उहाँ फेरि नेपाल आउन उत्सुक हुनुहुन्छ,’ दूतावासले फेसबुक पोस्ट गरेको छ ।
लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ । उनले अमेरिकी दूतावासका कर्मचारीहरूलाई पनि भेट्नेछन् ।दूतावासका अनुसार लुले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् । नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले सीप प्रदान गर्न उक्त संस्थाले गरेका प्रयासबारे लुले बुझ्ने दूतावासले जनाएको छ ।
यसअघि नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी ९स्टेट पार्टनरसिप प्रोग्राम० लाई अघि नबढाउने निर्णय गरेपछि लुले नेपाल भ्रमण गरेका थिए । एमसीसी सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनु ४ महिनाअघि पनि लु आएका थिए ।सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्यएसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमा पर्छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री नियुक्त भएका हुन् । त्यसअघि लु किर्गिस्तान र अल्बानियामा राजदूत भइसकेका हुन् ।
३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लुसँग नयाँदिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरेको अनुभव पनि छ । उनी दिल्लीमा नियोग उपप्रमुख थिए । उनी मध्यएसिया तथा दक्षिण एसिया काकेसस मामिला कार्यालयका उपनिर्देशकसमेत भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्