काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ६९ वर्षकी थिइन् । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । माध्यमिक विद्यालयका शिक्षक प्रचण्डलाई देशको प्रधानमन्त्रीसम्मको यात्रामा अनवरत् साथ र हात दिने अथक पथिक दाहालको निधनपश्चात प्रचण्ड परिवार आधा भएको छ । अब प्रचण्डलाई सीताको भौतिक साथ रहने छैन । जेठी छोरी र छोरो गुमाएको चोट बोकेर हिँडिरहेका प्रचण्डले अन्ततः पत्नी शोकको बज्रपात पनि झेल्नुपरेको छ । युद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्षको अवधिमा उनले जन्मदिने बुबासहित परिवारका चार सदस्य गुमाएका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन ६९ वर्षको उमेरमा संवत् २०८० असार २७ गते बुधबार नर्भिक अस्पतालमा भयो । अस्पतालले भने अनुसार बिहान ८ बजे आकस्मिक रुपमा ल्याइँदा लगभग सीताको अन्तिम सास बाँकी थियो । दाहाल प्रोग्रेसिभ सुप्रान्यूक्लिअर पल्सी, पार्किन्सनिज, मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन ।
पुत्र वियोगपछि विक्षिप्त बनेकी सीता त्यसपछि कहिल्यै पनि स्वस्थ हुन सकिनन् र अन्तिममा बुधवार छोराको शव निस्किएकै अस्पतालमा उनले देहत्याग गरिन् । दाहालको निधनपश्चात राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई टेलिफोन गरेर सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निधनको खबरले आफू मर्माहत भएको ट्वीटमार्फत् जनाएका छन् । दाहालको निधनसँगै राजनीतिक दलका शीर्ष नेता तथा नेकपा माओवादीका कार्यकर्ता नर्भिक अस्पताल पुगेका छन् । प्रचण्ड र शोकसन्तप्त परिवारलाई समवेदना दिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसहित नर्भिक अस्पताल पुगेका हुन । उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत अस्पताल पुगेका थिए ।
प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नर्भिक अस्पतालबाट पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा लगिएको थियो । पेरिसडाँडामा दाहालका आफन्तहरूसहित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव अन्त्यष्टिको लागी दिउसो २ बजे पशुपती आर्यघाट लगिएको थियो । आर्यघाटमा सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी ओली, माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव बैकुण्ठ अर्याल, सांसद, सचिव, कुटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक पुगेका थिए । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका थिए । दाहाललाई प्रथम महिलाको रुपमा सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिइएको छ ।
दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको थियो । दिवंगत सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिएका छन् । प्रधानमन्त्री दाहालसँगै रेणु र गंगा पनि चिता वरपर घुमेका थिए । माध्यमिक विद्यालयका शिक्षक प्रचण्डलाई देशको प्रधानमन्त्रीसम्मको यात्रामा अनवरत् साथ र हात दिने अथक पथिक बनेकी प्रचण्डपत्नि सिता दाहालको निधनसँगै प्रचण्ड परिवार आधा भएको छ । किनकी अब सीतासँग छोरा प्रकाश र छोरी ज्ञानु भएका छन् भने प्रचण्डसँग रेणु र गंगा । यो कम्ती कठोर र पीडादायी क्षण होइन । जे होस्, सीताले कष्टकर जीवनबाट मुक्ति पाइन् ।
यदि अर्को लोक छ भने सम्भवतः उनले आफ्नो मुटुका टुक्रा ज्ञानु र प्रकाशलाई फेरि काखमा लिउन् । बाँकी रहेका दुई सन्तान रेणु र गंगाले प्रचण्डलाई देशको लागि अझै केही उनको हुटहुटी र दृढताको यात्रामा दह्रिलो साथ दिउन् । शोकलाई शक्तिमा बदल्ने सिद्धान्त अँगालेका प्रधानमन्त्री दाहाललाई फेरि पनि शक्ति आर्जन गर्ने क्षमता मिलोस् ।
आज प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा छन् । सीताको सहयोगबिना करिब साढे तीन दशकदेखि पार्टी नेतृत्वमा रहन दाहाललाई सम्भव थिएन । औपचारिक शिक्षा सामान्य भएपनि उनले माओवादी आन्दोलनलाई यहाँसम्म ल्याइपु¥याउन ठूलो भूमिका खेलेकी थिइन् । बिगत २० वर्षदेखि लगातार नेपाली राजनीतीको निर्णायक नेतृत्वदायी भुमीकामा रहन सफल नेता, गणतन्त्रको सुत्राधार प्रचण्ड र समग्र माओवादी आन्दोलनलाई यहाँसम्म आईपुग्न घामपानी, जीवनमृत्यु कुनै कुराको प्रवाह नगरी एक असल जीवनसंगीनी तथा सहयोद्धाको रुपमा साथ दिएर देशको व्यवस्था परिवर्तनमा दिएको अमूल्य योगदानको सदा उच्च सम्मान र स्मरण हुनेछ । ईतिहाँसले पक्कै पनि कदर गर्ने छ, चर्चा गर्नेछ । अलविदा सिता दाहाल ।।
को हुन सीता दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनयुद्धका सुप्रीमो थिए, सीता दाहाल उनै सुप्रीमोका पनि सुप्रीमो थिइन् । उनी देशको राजनीतिमा उथलपुथल ल्याउने युद्धको नेतृत्व गरिरहेका सुप्रिमोलाई सचेत गराउने महिला थिइन् । सीताले पुष्पकमल दाहाललाई प्रचण्ड बनाए, एक शिक्षकलाई देशको प्रधानमन्त्री पनि बनाइन् । भूमिगत हुँदा साथमै, सार्वजनिक हुँदा साथमै, सुख, दुःख अनि आँधीमय समयमा पनि सँगै रहेकी सीता अब भने सधैँका लागि अलप भइन् । यस अर्थमा नेपालको वामपन्थी आन्दोलनमा सीताका प्रत्यक्ष–परोक्ष थुप्रै योगदानहरू छन्, सम्मानयोग्य भूमिकाहरू छन् । तर, अब उनी सधैँका लागि अस्ताएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनयुद्धका सुप्रीमो थिए, सीता दाहाल उनै सुप्रीमोका पनि सुप्रीमो थिइन् । उनी देशको राजनीतिमा उथलपुथल ल्याउने युद्धको नेतृत्व गरिरहेका सुप्रिमोलाई सचेत गराउने महिला थिइन् । त्यसो त, पार्टीभित्र संकट चुलिएको बेला उनी पार्टीका शीर्ष नेताहरूलाई पार्टी विभाजन नगर्न चेतावनी दिन्थिन् । २०६१ भदौमा रोल्पामा सम्पन्न फुन्टिवाङ बैठक अघि सीता दाहाल उपचारको क्रममा भारतमा थिइन् । त्यतिबेला माओवादी विवाद उत्कर्षमा पुग्दै विभाजनउन्मुख बन्यो । खबर पाउनासाथ उनी नेपाल फर्किइन्, प्रचण्ड र बाबुराम दुवैलाई सकेजति सम्झाइन् । माओवादीले गर्दा संसार पनि हल्लिएको अवस्थामा बाबुराम र प्रचण्डलाई झिनामसिना कुरामा अड्किएको भन्दै सल्लाहकारको भूमिका निभएकी थिइन् । उनलै चुनवाङ बैठकमा पनि सहभागी प्रचण्ड–बाबुरामलाई जनताको रगतसँग खेल्न नहुने बताउँदै उनीहरुले तलमाथि गरे प्रचण्ड–बाबुरामलाई जनता र विदेशी मित्रहरूले पनि छाड्दैनन् भन्दै चेतावनी नै दिएकी थिइन् ।
एक गृहिणीबाट भूमिगत राजनीतिमा सक्रिय सहभागी भएर पार्टी सदस्य हुँदै केन्द्रीय सदस्य र सल्लाहकारको भूमिकामा पुगेकी सीताले आवश्यक परेका बेला कुन तहको सल्लाह दिन्थिन् भन्ने बुझाउने यो एउटा उदाहरण हो । यस्तै भूमिकाले पार्टीभित्र उनलाई पहिलो पुस्तामा अधिकांशले भाउजु र दोस्रो–तेस्रो पुस्ताका नेताले आमा भनेर सम्बोधन गर्थे । पार्टी पंक्तिभित्र सीता आमाको पहिचान बनाएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको बुधबार निधन भएको छ । चिकित्सकका अनुसार, पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल हृदयघातबाट बितिन् । बाहिरबाट हेर्दा उनी रोगले बितिन्, तर रोग जन्माउने विभिन्न घटनाको लामो र कष्टपूर्ण उनले बाँचेको जीवन अत्यासलाग्दो छ । सीताको माइती प्रचण्डको भन्दा सम्पन्न थियो । बिहेका लागि धेरै ठाउँबाट प्रस्ताव आइरहेका थिए, तर लेखपढ गरेको केटोसँग बिहे गरिदिए छोरीले सुख पाउली भनेर सीताका आफन्तले दाहालसँग बिहे गरिदिए । विवाहअगाडि सीताले प्रचण्डलाई चिनेकी पनि थिइनन् । उनले एक अन्तर्वार्तामा विवाहबारे आफूलाई माग्न त धेरै ठाउँबाट आएको तर मामाको जोडले आफूहरुको विवाह भएको खुलाएकी थिइन् । विवाह हुँदा प्रचण्ड केवल १५ वर्षका थिए भने सीता पनि झण्डै ६ महिनाले जेठी । सीताले बिहेपछि केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केको जस्तो, सानैमा विवाह भएकोले आफूहरू साथी र दिदीभाइ जस्तो भएको बताएकी थिइन् ।
बिहे हुँदा प्रचण्ड १० कक्षामा पढ्दै थिए । सीताले एक आमाले जसरी ‘यो गर्नुहोस्, त्यो नगर्नुस्’ भन्न थालिन् । १५ वर्षको उमेरमा सीता दश–बाह्र जना सदस्य रहेको परिवारको बुहारी बनिन् । उनले उक्त अन्तर्वातामा आफू असाध्यै कष्टसाध्य जीवन बाँचेर हुर्केर आएको महिला भनी आफूलाई परिभाषित गरेकी थिइन् ।
बिहेपछि प्रचण्ड अधिकांश समय परिवारसँग रहेनन् । सुरुमा काठमाडौं पढ्न गए । पछि गोरखाको आरुघाटमा अढाइ वर्ष जति पढाए । त्यतिबेलासम्म घरपरिवार राम्रै चलेको थियो । जब उनी पूर्णकालीन भए, परिवारको बोझ सीताको काँधमा थपियो । संयुक्त परिवारमा छुट्टाभिन्ना सुरु भयो । सीताका सुरुवाती पाँच वर्ष निकै सकसपूर्ण बिते । पञ्चायती प्रशासनले घर खानतलासी गरिरहन्थ्यो । आम्दानीको स्रोत थिएन, श्रीमान् पार्टीमा पूर्णकालीन भए, साना साना सन्तान हुर्काउँदै घरगृहस्थी चलाउनुपर्ने थियो । पितृसत्तात्मक समाजमा बुहारीले भोग्ने शारीरिक कष्ट त छँदैथियो, लगातार तीन छोरी जन्माएपछि ‘छोरा’ जन्माउन नसकेको ‘आमा’को भूमिकामा पनि उनले मानसिक रूपमा फरक व्यवहार भोगेकी थिइन् । २०३८ सालमा प्रकाश जन्मिए । प्रचण्ड भूमिगत हुँदा प्रकाश केवल पाँच महिनाका थिए ।
उनले माइतबाट एउटा भैंसी ल्याइन्, घरमा अंशबण्डा गर्दा दुइटा भैंसी पाइन् । बस्तुभाउसँगै उनले खेतीपाती र बालबच्चा सम्हालिन् । त्यतिबेला पार्टीका नेता थिए, मोहनविक्रम सिंह । ‘महिलालाई पनि अगाडि बढाउनुपर्छ, श्रीमान–श्रीमती एकै रथका दुईपांग्रा हुन्’ भन्दै उनले आवाज उठाइन् । विस्तारै कम्युनिष्ट पार्टीभित्र महिला नेतृत्व अगाडि आउने वातावरण बन्न थाल्यो तर उनले प्रचण्डलाई सघाउन आफूलाई घरमै सीमित गरिन् । लामो संघर्षपछि २०४६ मा प्रजातन्त्र पुर्नस्थापना भयो । पञ्चायती दमनका दिन सकिए । सीता दाहाल चार सन्तान सहित भरतपुरबाट काठमाडौं डेरा सरिन् । पार्टीभित्र सशस्त्र जनयुद्धको लागि परिस्थिति परिपक्व छ÷छैन भनेर विवाद थियो । अन्ततः प्रचण्डको नेतृत्वमा नेकपा माओवादीले जनयुद्ध घोषणा ग¥यो । सीताको जीवनमा अर्को घुम्ती सुरु भयो । युद्धको नेतृत्वसँगै परिवारको व्यवस्थापन पनि चुनौतीपूर्ण नै थियो । दाहाल दम्पतीले दुई छोरीको विवाह एकसाथ भारतबाटै गरिदिए । जनयुद्धकालमा कहिले भारत, कहिले नेपालको बसाइ चलिरहेको थियो । १३ चैत २०६० मा तत्कालीन नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज मोहन वैद्य (किरण) भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार भएपछि प्रचण्डको परिवार पनि भारतबाट रोल्पा स¥यो । युद्धको जोखिमका बीच तत्कालीन माओवादीको आधार क्षेत्रमा उनीहरू एकसाथ रहे । त्यो समय हरेक दिन अप्रिय खबर सुन्नु त सामान्य जस्तै थियो । विभिन्न उतारचढाव पार गरेपछि युद्ध शान्तिपूर्ण राजनीतितिर अगाडि बढ्यो ।
दुईपटकसम्म पति प्रधानमन्त्री बन्दा पनि सीताले ‘लामो हात’ र ‘चर्को मुख’ गरेको आरोप खेप्नु परेन । बालुवाटार पुगेपछि हुर्कने राजसी ठाँटबाँट र घमण्डले उनलाई कहिल्यै शासन गर्न सकेन । प्रचण्डले पत्नीका कारण कुनै ठूला विवाद खेप्नुपरेन । देशमा भइरहेका राजनीतिक उथलपुथलको प्रतिबिम्ब पार्टीभित्र पथ्र्यो । नेताहरूबीच विवाद र हरेक राजनीतिक उथलपुथलको केन्द्रमा रहने राजनीति नियाल्ने अवसर पाइन् उनले । प्रधानमन्त्री–पत्नीका रूपमा उनी विश्वका शक्तिशाली राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने अवसर पाइन् । राष्ट्रिय राजनीतिका अनेकौं महत्वपूर्ण घटनाक्रमको साक्षी बनिन् । तर सीता आफूले देखेको÷भोगेको राजनीतिका रोचक घटनाक्रमबारे संसारलाई बताउन नपाउँदै अस्ताएकी छिन् । युद्धको बेला भारत हुँदै रोल्पा–रुकुमका भूगोलमा सीताले प्रचण्डलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
सेल्टर नजिकै बमबारी हुँदा उनलाई लाग्थ्यो, प्रचण्डको अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन् । त्यसैले उनी भनिरहन्थिन्, प्रचण्डलाई केही हुनुहुन्न । तर आज सीता उनै प्रचण्डलाई नै टुहुरो बनाएर बिदा भएकी छिन् । सन्तान वियोगबाट विक्षिप्त पत्नीको तन र मनको उपचार गर्न प्रचण्डले स्वदेश–विदेशका अस्पतालदेखि धार्मिक÷आध्यात्मिक स्थलसम्म पु¥याए । कहिले प्रकृतिको काखसम्म पु¥याए त कहिले भगवानको शरणमा । विवाहको ५०औं वर्षगाँठमा प्रचण्ड दम्पतीले विवाह समारोह नै आयोजना गरे । पत्नीको स्वास्थ्य लाभका लागि प्रचण्डले सक्दो प्रयास गरे । तर अहँ, उनी सम्हालिन सकिनन् । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा त सीता थाहा नै पाउन नसक्ने गरी ओछ्यानमा ढलिसकेकी थिइन् । राजनीतिक उतारचढावका बीचमा उनको परिवार पनि अशान्त रह्यो । जेठी छोरी ज्ञानुको क्यान्सरबाट कष्टप्रद मृत्युले घाइते बन्दासम्म उनी सम्हालिएकी थिइन्, तर छोरा प्रकाशको प्रेम–विवाहको श्रृंखला हुँदै मृत्युसम्म आइपुग्दा उनी ओछ्यान नै परिन् । छोरीपछि छोरा गुमाउनुको पीडाले थलिएकी सीता आमा अब कहिल्यै नउठ्ने गरी बिदा भएकी छिन् । सीताले पुष्पकमल दाहाललाई प्रचण्ड मात्रै बनाएनन्, एक शिक्षकलाई देशको प्रधानमन्त्री पनि बनाइन् । भूमिगत हुँदा साथमै, सार्वजनिक हुँदा साथमै, सुख, दुःख अनि आँधीमय समयमा पनि सँगै रहेकी सीता अब भने सधैँका लागि अलप भइन् । यस अर्थमा नेपालको वामपन्थी आन्दोलनमा सीताका प्रत्यक्ष–परोक्ष थुप्रै योगदानहरू छन्, सम्मानयोग्य भूमिकाहरू छन् । तर, अब उनी अस्ताएकी छन् । उनीप्रति हार्दिक श्रद्धाञ्जली !
प्रतिक्रिया दिनुहोस्