काठमाडौं, २७ असार । नेपालमा हवाई सेवाको इतिहास ७४ वर्ष पुरानो भए पनि यसको विकास र विश्वासले खासै फड्को मार्न सकेको देखिंदैन । नेपाली आकासमा भएका धेरै हवाई दुर्घटनाले यात्रुको विश्वास जित्न नसकेको देखिन्छ भने युरोपेली देशहरुमा समेत उडान अनुमति पाउन सकेको छैन । नेपालमा जहाजको संख्या नै कम, त्यसमा पनि समयमै उडान नहुने पनि अर्काे समस्या देखिन्छ । हवाइ यातायात भरपर्दाे र सुरक्षित मानिए पनि नेपाली आकाशमा पछिल्लो समयमा हवाई यात्रा असुरक्षित बन्दै गएको छ । पहाडी धरातलको उडान, मौसमी परिवर्तन, प्रयाप्त सूचनाको लागि विमानस्थलमा आधुनिक उपकरणको अभाव र पुराना मोडेलका हवाई जहाजको कारणले पनि हवाई दुर्घटनाको घटनाहरु बढ्दै गएका छन् । वर्षेनी हुने ठूला विमान दुर्घटनाले नेपाली आकास साह्रै असुरक्षित बन्दै गएको छ । ‘हाम्रा जमिन त असुरक्षित थियो नै थियो तर आकास पनि असुरक्षित हुनथाल्यो ।
मंगलबार बिहान सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन—एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५ को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको हो । मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् । सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि गरेका थिए ।
हेलिकप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएसँगै बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो । गतवर्षको माघ १ गते आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नेपाली आकाशको १०४औँ, व्यावसायिक आन्तरिकतर्फ ५०औँ विमान दुर्घटना भयो । आन्तरिक उडानतर्फ यो सबभन्दा बढी मानवीय क्षति भएको दुर्घटना पनि बन्न पुग्यो । तर त्यसको छ महिना नपुग्दै अर्को हेलिकप्टर दुर्घटनाले नेपालमा किन बारम्बार हवाई दुर्घटना भइरहन्छ र नेपाली आकाश किन असुरक्षित बनिरहेको छ जस्ता प्रश्न उठेका छन् । साथै यस दुर्घटनाले पुनः एकपटक नेपालको हवाई सुरक्षाबारे चिन्ता र चासोसमेत बढाएको छ । दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरे । यता सरकारले दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले यथाशिघ्र छानबिन समिति बनाएर मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताएका छन् । उनले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वी नेपालको सिमरामा २०१२ साल भदौ १३ गते अर्थात् ६७ वर्षअघि भएको कालिङ्गा एयरको विमान दुर्घटना नेपालमा भएको पहिलो हवाई दुर्घटना हो । उच्च डाँडाकाँडा, खराब मौसम, विमान चरासँग ठोक्किनु, प्राविधिक र मानवीय त्रुटिलगायत कारणले विमान दुर्घटना हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिन्छ । तर विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश कति सुरक्षित भन्ने प्रश्न बारम्बार उठ्दै आएको छ ।
पछिल्ला तीन दशकमा मात्रै भएका २७ भन्दा बढी ठूला विमान दुर्घटनाले विश्वमा सर्वाधिक विमान दुर्घटना हुने देशमध्ये नेपाल पनि एक हुन पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी रिपोर्टका अनुसार हालसम्म नेपालमा १०५ वटा विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा ९२५ जनाको मृत्यु भएको छ । यस्तै, ७० जना पाइलटको मृत्यु भएको छ । हवाई दुर्घटनामा परेकामध्ये करिब ६९० जना भने बाँच्न सफल भएका छन् । त्यसमध्ये ३७ वटा हेलिकप्टर दुर्घटनामध्ये १८ वटा दुर्घटनामा मानवीय क्षति भएको छ । हेलिकप्टर दुर्घटनामा यात्रु र क्याप्टेनसहित ८५ जनाको मृत्यु भएको छ । यस तथ्याङ्कलाई आधार मान्दा नेपालमा हरेक वर्ष सरदर १२ जनाको विमान दुर्घटनामा मृत्यु हुने गरेको छ । दुर्घटनाको प्रकृति हेर्दा भने आधुनिक प्रणालीजडित विमान र अनुभवी चालक नै दुर्घटनामा परेका छन् । जहाज दुर्घटनाको मुख्य कारण मौसमको खराबी, प्रक्रियाको परिपालन नहुँदा र चालक दलले जहाजमाथि नियन्त्रण गुमाएका छन् भने प्राविधिक समस्याका कारण जहाज दुर्घटना दर न्यून छ ।
कतिपय अवस्थामा गन्तव्यमा पुग्ने हुटहुटीले यात्रुले समेत छिटो उडानका लागि दबाब दिने गर्छन् । त्यसैले यात्रुको पनि संवदेनशीलतामा कमजोरी देखिन्छ । पहाडी इलाकामा (विशेषगरी हिमाली क्षेत्रका मौसम परिवर्तन भइरहने र भौगोलिक बनावटका कारण नेपालमा हवाई दुर्घटना हुँदै आएको विज्ञहरुको विश्लेषण छ । प्राविधिक समस्याभन्दा मौसम, भौगोलिक विकटता र मानवीय त्रुटिका कारण हवाई दुर्घटना हुने गरेकोमा उनीहरुको ठम्याई छ । नेपालका विमानलाई असुरक्षित ठान्दै युरापेली मुुलुकहरूमा उड्न प्रतिबन्ध लगाइएको एक दशक पुग्न लागेको अवस्थामा बारम्बारका हवाई दुर्घटनाले नेपालले बाह्य उडान विस्तारमा विश्वास झनै गुमाएको छ । त्यसका लागि हवाई कम्पनी र जहाजको सङ्ख्या बढ्दो क्रमसँगै नियमित परीक्षण, सुरक्षा सर्वे, निरीक्षण, जाँच तथा अनुसन्धानलाई प्रभावकारी बनाउन पर्याप्त जनशक्तिको खाँचो छ । कतिपय हवाई दुर्घटनाको छानबिन गर्न गठित समितिलाई स्वतन्त्र रूपमा प्रतिवेदन तयार पार्न नदिँदा पनि त्रुटि दोहोरिने गरेको रहस्यहरु छन् । साथै पाइलटलाई दिइने दबाब पनि दुर्घटनाको एउटा कारण रहेको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई सवार हेलिकप्टर दुर्घटनालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । त्यसर्थ नीति, नियम बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयन र अनुगमन चुस्त राख्न आवश्यक छ । अनुगमनलाई प्रभावकारी बनाउन अनुगमन गर्नेहरूमाथि पनि अनुगमन गर्न जरुरी रहेको छ । यसका लागि जिम्मेवार निकायले नियमन गर्दै हवाईयात्रालाई सुरक्षित बनाउनतर्फ सरकारको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्