काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दाको सुनुवाइका लागि आज पनि पेशी तोकिएको छ। सर्वोच्च अदालतमा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको छ। मुद्दा चौबिसौं क्रममा छ।
यसअघि आइतबार सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएपनि समयअभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो।
हिजो उक्त मुद्दा दसौं क्रममा थियो। कोशीमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो।
रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।
सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१२), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका थिए।
सभामुखमा निर्वाचित भएपछि दल त्यागको घोषणा गरेका सभामुख बाबुराम गौतमले पनि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
प्रतिक्रिया दिनुहोस्