काठमाडौं २ साउन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई छिटो सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ ।
माओवादी केन्द्रले विद्युत उर्जाको बढ्दो मागलाई सम्बोधन गर्न पनि निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
पार्टीको जलस्रोत तथा उर्जा विभागले सोमबार सार्वजनिक गरेको जलस्रोत तथा उर्जा सम्बन्धि नीति तथा कार्यक्रममा विद्युत माग १३ सय मेघावाटको हाराहारीमा रहेको उल्लेख गर्दै त्यसलाई पूर्ति गर्न पनि सरकारले निर्माणाधिन जलविद्युत आयोजना सम्पन्न गर्न ढिलाई गर्न नहुने सुझाव दिइएको छ ।
नेपालमा हाल ८ सय २३ मेघावाट मात्रै विद्युत उत्पादन हुने गरेको छ । पार्टीले विद्युत उत्पादनका लागि राष्ट्रिय पुँजी नै पर्याप्त रहेको निष्कर्ष पनि निकालेको छ ।
राष्ट्रिय हितलाई सर्वोपरी ठानेर विद्यु्त उत्पादन गर्ने गरी जलस्रोत तथा उर्जा सम्बन्धि नीति तथा कार्यक्रम ल्याइएको पार्टीका नेता लिलामणि पोखरेलले जानकारी दिनु भयो । उहाँले उर्जा संकट समाधान गर्न पार्टीले तय गरेको नीति तथा कार्यक्रम उपयोगी हुने दावी समेत गर्नु भयो ।
माओवादी केन्द्रले उर्जा संकट समाधान गर्न अन्तरदेशीय प्रशारण लाईन निर्माण, आन्तरिक प्रशारण लाईन निर्माणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याएको छ ।
नेपालमा जलविद्युत उत्पादन गर्न थालिएको १ सय ६ वर्ष पुरा भएपनि हालसम्म ८ सय २३ मेघावाट मात्रै विद्युत उत्पादन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्