काठमाडौं, १ जेठ । नेपाल प्रहरीको विशेष ब्यूरोले ११ दिनदेखि फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आइतबार बेलुका पक्राउ गर्यो।
बुढानीलकण्ठस्थित अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा उनी लुकेर बसेका थिए। प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सी खाएर झुम्मिएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिए।
विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै स्वास्थ्य जाँचका लागि कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो। परीक्षणपछि रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिएका छन्। तर प्रहरीले भने उनी रक्सीमा झुम्म भएको अवस्थामा रहेको बतताएको छ। यसअघि फरार रहँदा उनले संसद्लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए।स्वास्थ्य जाँचपछि रायमाझीलाई राति नै प्रहरीको सोह्रखुट्टे वृत्तमा लगिएको थियो। उनलाई त्यहाँको हिरासतमा राखिएको छ। शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपिहरुलाई छुट्टा छुट्टै हिरासतमा राखिएको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौं प्रहरी परिसर टेकूमा राखिएको छ। नक्कली शरणार्थीका नाममा ठगी गरेको आरोपमा अहिलेसम्म १३ जना पक्राउ परेका छन्। टोपबहादुरका छोरा सन्दीप वैशाख २० गते नै पक्राउ परेका थिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।








प्रतिक्रिया दिनुहोस्