काठमाडौं, २९ बैशाख । फरार एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गर्न नयाँ तरिका अपनाइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझी नौ दिनसम्म कहाँ छन् प्रहरीले समेत जानकारी नभएको बताइरहेको छ।
यस्तोमा फरार रायमाझीलाई पक्रन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले संसद् सचिवालयबाट सीसीटीभी फुटेज लिएर गएको छ।रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्न प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको जनाएको छ।
प्रहरीले मंगलबार बिहान १० देखि ५ बजेसम्मका संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगेको संसद सचिवालयले जानकारी दिएको हो।
पक्राउ पुर्जी जारी भएपछि फरार बनेका रायमाझीले आफू बिरामी भएको संसद्लाई जानकारी गराएका थिए।यस प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीलाई पक्राउ गरिसकेको छ। उनलाई अदालतले ३ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमतिसमेत दिइसकेको छ। यस पक्ररणमा हालसम्म ११ जनालाई प्रहरीले नियन्त्रणमा लिइसक्दा रायमाझी भने अझै फरार रहेका हुन्।
प्रतिक्रिया दिनुहोस्