रौतहट, १५ चैत, बागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको कार्यालय परवानीपुर बाराको आयोजना प्रमुख कमाउ धन्दामा लागेको पाइएको छ । आयोजना प्रमुख मनोज पटेलले नदी नियन्त्रणका लागि आएका आयोजनाहरु कमिशन लिएर विभिन्न उपभोक्ता समितिलाई दिने गरेका छन । त्यति मात्र नभएर आयोजना प्रमुख पटेल, इन्जिनियर तेज नारायण यादव तथा सब इन्जिनियर गौरी शंकर कर्णको मिलेमत्तोमा विभिन्न स्थानमा सम्पन्न भएको तटबन्धलाई मर्मतको नाममा नयाँ उपभोक्ता समिती गठन गरी पुनः सोही स्थानमा काम गराउने गरेका छन ।
रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नम्वर ४ अन्र्तगत पर्ने जंगलसहिया बौद्धी टोलमा लाल बकैया खोलाले गरेको कटान नियत्रन्त्रण गर्न गत वर्ष मात्र निर्माण सम्पन्न गरेको तटबन्धलाई भत्काएर पुनः सोही स्थानमा तटबन्धको काम शुरु गर्नका लागि गुजरा नगरपालिकाका वडा नम्वर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाई कुमारलाई जिम्मा दिएको छ । स्थानिय ठेकेदार च्यांग्वा लामाले गत वर्ष नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न ठेक्का पाएका थिए । नदी नियन्त्रण आयोजनाको कार्यालय परवानीपुरबाट तटबन्द निर्माण गर्नका लागि कार्य आदेश पाएका उनले उपभोक्ता समिति गठन गरेर तटबन्धका काम गत वर्ष नै सम्पन्न गरेका थिए । नदी नियन्त्रण आयोजनाको कार्यालयका प्रमुख पटेल, इन्जिनियर यादव र सब इन्जिनियर कर्णले कमिशनका लागि गत वर्ष मात्रै सम्पन्न भएको तटबन्धलाई भत्काउन लगाएर पुनः निमार्णका लागि वडा अध्यक्ष चौलागाईलाई जिम्मा दिएको स्थानियले बताएका छन ।
पूर्ण रुपमा राम्रो अवस्थामा रहेको तटबन्धलाई भत्काएर त्यहाँ भएको जाली र ढुंगाको प्रयोग गरी पुनः सोही स्थानमा अर्को तटबन्धको निर्माण कार्य शुरु गर्नु भनेको नदी नियन्त्रण गर्नु भन्दा पनि पैसा कमाउने दाउ मात्र रहेको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामाले बताएकी छन । नदीले कटान गरेको स्थानहरुमा नदी नियन्त्रण सम्बन्धी कार्यक्रम तथा निर्माण कार्य अगाडी बढाउनुको सटटा हुँदा छँदाको संरचना बिगार्ने काम गलत भएको बताएकी छन ।
स्थानिय बासिन्दाका अनुसार गुजरा, कटहरिया, फतुवा बिजयपुर नगरपालिकाका विभिन्न वडाहरुका साथै जिल्लाका विभिन्न स्थानमा बागमती, लाल बकैया नदी नियन्त्रण सम्बन्धी गर्नु पर्ने कामहरु थुप्रै भएता पनि आयोजना प्रमुख र इन्जिनियरहरु आर्थिक प्रलोभनमा परेर बनेको संरचना भत्काउने र सोही स्थानमा पुनः काम गर्न आदेश दिने गरेको बताए। यस विषयमा आयोजना प्रमुख पटेल र सब इन्जिनियर कर्णसँग कुरा गर्दा आफनो बचाउ गर्दै कुनै उपभोक्तालाई नदिई थोढुंग निर्माण सेवाले मर्मतको काम गरिरहेको भन्दै पन्छिन खोजेका छन । उता गत वर्ष तटबन्धका काम सम्पन्न गरेका च्याग्वा लामाले कुनै निर्माण सेवाले नगरेर आफूले उपभोक्ता समिति मार्फत काम गरेको बताएका छन । तर अहिले मर्मतको नाममा बनेको तटबन्ध भत्काएर पुनः सोही स्थानमा नयाँ तटबन्ध बनाउदै गरेको सुन्दा आफू अचम्ममा परेको बताए।








प्रतिक्रिया दिनुहोस्