काठमाडौं । आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका उपरथी प्रेमप्रकाश शाहीलाई बर्खास्त गरिएको छ।
अनियमिता आरोपमा छानबिन सकेपछि सैनिक अदालतले उनलाई बिहीबारदेखि लागु हुने गरी सेवाबाटै बर्खास्त गर्ने निर्णय सुनाएको हो।
सेनाले अनियमितता आरोपमा शाहीविरुद्ध अदालती प्रक्रिया सुरु गरेको थियो। उक्त प्रकरणमा कोर्ट मार्सलले दोषी ठहर गर्दै शाहीलाई बर्खास्त गर्ने निर्णय लिएको हो।
सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले शाहीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी फैसला भएको बताए। ‘उहाँ (शाही) लाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सैनिक अदालतले कारबाही निर्णय गरेको छ’ भण्डारीले भने, ‘अनियमितता भएको ठहरसहित सैनिक अदालतले बिगो भराउने पनि निर्णय लिएको छ।’
भण्डारीका अनुसार यही प्रकरणमा पक्राउ परेका अन्य दुईजना कर्णेललाई पनि कारबाही अघि बढाउने निर्णय भएको छ।
प्रतिक्रिया दिनुहोस्