१८ फागुन । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बताउनुभयो । “६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, जथाभावी सडक निर्माण र खोल्साखोल्सीको अतिक्रमण तथा बहावमा स्थान परिवर्तन हुँदा जोखिम बढेको हो ।” अन्नपूर्ण गाउँपालिकाबाट आठ लाख ५५ हजार एक सय ७३ टन, रघुगङ्गा गाउँपालिकाबाट तीन लाख ५० हजार चार सय ६८ दशमलव १० टन र बेनी नपाबाट ३१ हजार एक सय ३७ टन माटो बाढीले बगाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्