काठमाडौ, १६ फागुन । ताजा जनादेशपछि पुस १० मा बनेको सत्ता गठबन्धन मधुमाससमेत पूरा नगर्दै भत्किएको छ । सिंहदरबार छिरेको ६२ दिनमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटका बेला आफैँलाई साथ दिने गठबन्धन तितरबितर पारिदिएका छन् । सतहमा जे देखिए पनि अन्तर्यमा भने नेताहरूको सत्तामोह, आपसी अविश्वास र धोकाधडीले मुलुक पुनः राजनीतिक अस्थिरताको लामो गोलचक्करमा फस्ने देखिएको छ । त्यसो त, प्रधानमन्त्री प्रचण्ड राजनीतिलाई सम्भावनाको खेल ठान्छन् । आफनो अस्थिर चरित्रलाई गतिशील मान्छन् । अनि, त्यही ‘गतिशीलता’बाट शक्ति आर्जन हुने विश्वास गर्छन् ।
नया सरकार बनेको कम्तीमा तीन महिना आमनागरिकमा उत्साह जगाउनुपर्ने हो । संविधानले सरकार बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरेर कम्तीमा दुई वर्ष स्थिर सरकारको परिकल्पना गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले दुई महिनामै संघीयसगै प्रदेश सरकारसमेत अस्थिर बनाइदिएका छन् । कतिसम्म अस्थिरता देखियो भने, आफू प्रधानमन्त्री बन्न एउटा गठबन्धन बनाए । अनि, आफूले चाहेको व्यक्ति वा पार्टीलाई राष्ट्रपतिमा ल्याउन त्यो भत्काइदिए । १० पुसमा एमाले अध्यक्ष केपी ओली निवास बालकोटबाट प्रधानमन्त्रीको दाबी गर्न शीतल निवास पुगेका प्रचण्ड २५ पुसमा कांग्रेसको पनि साथ खोज्दै सभापति शेरबहादुर देउवा निवास पुगे । २६ पुसमा कांग्रेसले ‘रणनीतिक रूपमा’ विश्वासको मत दिएपछि प्रचण्ड सत्ता र प्रतिपक्षका दुईवटै डुंगामा खुट्टा हालेर हिड्न थाले ।
प्रधानमन्त्री भएको दुई महिनामै उनी ओलीको डुंगा छोडेर देउवाको पुरानै डुंगामा सरेका छन् । दुई महिनाको राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो हानि भने लोकतन्त्र र राजनीतिलाई भएको छ । संवैधानिक र आलंकारिक पदको रूपमा रहेको राष्ट्रपति छान्न दलहरूले जे–जे उछलकुद गरे त्यसले एकातिर राष्ट्रपति पदको गरिमालाई हलुका बनाएको छ भने अर्कातिर आममानिसमा नेताहरूप्रतिको विश्वास पातालमा पुगेको छ । नेताहरूले निष्ठा र सिद्धान्तको राजनीति गर्दैनन् बरू धोका र जालझेलको खेल खेल्छन् भन्ने कुरा नागरिकको मनमा गढेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीचको चिसो सम्बन्ध पुस–माघको घामले के तताओस् ! दुई महिनायता यी दुई नेताबीच लगातार घाम–संवादहरू भए तर तिक्तता र चिसोपन हटेन ।
नतिजा, फेरि सम्बन्धविच्छेद भयो । २०७४ मा पार्टी एकता गर्दा उनीहरूले बालुवाटारको बगैंचामा जापानी प्रजातिको बिरुवा जिन्को रोप्दै भनेका थिए, ‘जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले अणु बम खसाल्दा जिन्को नमरेजस्तै हाम्रो एकता पनि मर्नेछैन ।’ तर ओली–प्रचण्डले पार्टी एकता त बचाउन सकेनन् नै, केहि महिना अघिमात्रको पनि टिकाउन सकेनन् । बरु, हरेक छ महिनामा रङ फेर्ने जिन्कोको पातले भन्दा पनि छिटो ओली–प्रचण्ड सम्बन्धले रङ फे¥यो । दुई महिनामा हाम्रा दुई छिमेकी मुलुकबाट भएका भ्रमण र भेटघाटले पनि आमनागरिकमा हाम्रो राजनीतिमा बाह्य चलखेलको प्रभाव साँच्चै महत्वपूर्ण हुने रैछ भन्ने पारेको छ । अस्थिरताका यी दुई महिनामा केही दल र नेताले लाभ र हानि व्यहोरे पनि मूल राजनीतिक पार्टीहरूप्रति आमनागरिकमा बढेको अविश्वास र विदेशी शक्तिको चलखेलबारे चुलिएको शंकाले दीर्घकालमा हाम्रो लोकतन्त्रलाई असर गर्ने छ । सरकारका १०० दिनलाई ‘हनिमुन डेज’ भन्ने गरिन्छ । यस अवधिभित्र सरकार ढाल्ने वा गठबन्धन बदल्ने त कुरै छोडौँ, सरकारको चर्को आलोचनासमेत गरिँदैन ।
तर, प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकार निर्माणका क्रममा बनेको गठबन्धन भने यही ‘हनिमुन डेज’ मै टुटेको छ । पुष २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव राख्दा विपक्षमा बस्ने अनुमान गरिएका कांग्रेस, एकीकृत समाजवादी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलले समेत सरकारलाई समर्थन गरे । प्रतिनिधि सभामा १/१ सिट भएका दुई साना दल राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) मात्रै विपक्षमा बसेका थिए । यो घटनापछि एमालेसहितको गठबन्धन लामो नजाने आशंका गरिएको थियो ।
स्वयम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बोल्दै आशङ्का व्यक्त गरेका थिए । उनले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर ‘ढोक्सा’ थापेको तर त्यसमा माछा नपर्ने बताएका थिए । तर राष्ट्रपति पद कांग्रेसको भागमा परेसँगै ‘ढोक्सा’मा माछा परेको छ । राजनीति केही थान नेताको सत्तालिप्साको हतियार बनेको छ । यो एउटा शक्तिको खेलमा सीमित हुदै गएको छ । यहा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, लोककल्याणका कुरा, जनमुद्दा सबै गौण भएका छन । एउटा नेताले अर्कोलाई पछारेको दृश्यले एकै छिन त रोमाञ्चित भइएला तर यो प्रवृत्ति हुर्कंदा राजनीतिक संस्कार र मूल्य धराशायी हुदै अस्थिरता र निराशा मात्रै हात लाग्नेछ । समाजका लागि यो गम्भीर चिन्ताको विषय हो । राष्ट्रिपति निर्वाचनको पूर्वसन्ध्यामा मञ्चन भएको यस्ता दृश्यले हाम्रो राजनीतिकता जाँदै छ । यो सोचनिय विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्