काठमाडौं, ११ माघ । प्रदेश सभाले पूर्णता पाएसगै धमाधम प्रदेश प्रमुखहरुले प्रदेश सभाको पहिलो बैठक आव्हान गर्नु शुरु गरेका छन् । प्रदेश नम्वर दुईले यसअघि नै माघ २१ गते बैठक आव्हान गरिसकेको अवस्थामा प्रदेश नम्वर ३ र ७ ले समेत बैठक आव्हान गरेका छन् ।
प्रदेश नम्वर ३ ले माघ १८ गते पहिलो अधिवेशन आव्हान गरेको छ । ३ नम्वर प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार एक सूचना जारी गर्दै माघ १८ गते विहिवारका दिन प्रथम अधिवेशन आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश बैठक आव्हान गर्नुभएकी कोइरालाले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकी छन् । बैठक प्रदेशसभा स्थल तोकिएको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्नेछ ।
यस्तै, ७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आह्वान गर्नुभएको छ । जिल्ला समन्वय समितिको कार्यालय रहेको सभाहलमा प्रदेश सभाको पहिलो बैठक २१ गते दिउँसो १ बजे आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिव युवराज सुवेदीले जानकारी दिनुभयो । ७ नम्बर प्रदेशसभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी ५३ सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्