काठमाडौं, १९ पुस ।
प्रहरीको रेकर्डमा नेपालगञ्जका भनिएकी एकल महिला निर्मला कुर्मी वि.सं. २०७५ यता बेपत्ता छिन् । पिडित कुर्मीका श्रीमान्को वि.सं. २०६६ मा मृत्यु भएको थियो । त्यसपछि निर्मलाको घर र साढे चार बिगाहा जमिन हडप्न एक गिरोह सक्रिय बन्यो । श्रीमान् बितेकै साल उनका दुई छोराहरु १८ वर्षिय रामसागर र १४ वर्षिय सुरेशको दश महिनाको अन्तरालमा शंकास्पद मृत्यु भयो । तर, यस घटनाको कुनै उजुरी परेन, छानबिन भएन । बरु, यस घटनामा संलग्न भनिएका संविधानसभा सदस्य समेत रहेका बादशाह कुर्मीले उनको जग्गाको कागज र नागरिकता कब्जामा लिएर उनको सम्पत्ति हडप्ने प्रपञ्च रचेका थिए । त्यसपछि निर्मलाले कुर्मीविरुद्व वि.सं.२०६८ असोज ३० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसयता पिडित कुर्मी बेपत्ता छिन् । तर महिला अधिकार मञ्च बाँकेले पिडितको अपहरणपछि हत्या भइसकेको दाबी गर्दै आएको छ । यसको नेतृत्व अधिकारकर्मी रुबी खाने गर्दै आएकी छिन् ।
अधिकारकर्मी खानका नेतृत्वमा केही महिलाहरु यसअघि पनि बाँकेबाट २० दिनसम्म पैदल हिडेर काठमाडौंमा धर्ना दिन आएका थिए । सहमति बमोजिम कारबाही अघि नबढेपछि फेरी ४३ दिनसम्म काठमाडौंमा धर्ना एवम् अनसन दिए । सो समय मानव अधिकारकर्मी लगायत तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रतिबद्वता जनाएका थिए । आन्दोलनपछि निर्मलाको अपहरण र हत्यामा बाँके प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गतको प्रदेशसभा २ का सांसद बादशाह कुर्मीसहित ८ जनाविरुद्व मुद्दा दर्ता गरेर प्रहरीमा अनुसन्धान भइरहेको छ । मुद्दा अदालत पुगेर थप अनुसन्धान हुनुपर्ने माग उनीहरुको छ । भएका प्रमाण समेत नष्ट गर्न थालिएकोप्रति उनीहरुले दुखेसो व्यक्त गरे ।
गाउँले र अधिकारकर्मीले खोजी गर्दा निर्मलाको हत्या वि.सं. २०७६ चैत १४ गते भारतम भएको भन्ने शंकास्पद सूचना प्राप्त भएपछि महिलाहरु आन्दोलनमा उत्रेका थिए । यता सडकमा उत्रेका महिलाहरु आफूपनि असुरक्षित भएको महसुस गर्दै आएका छन् । यसअघि सञ्चारमाध्यममा पिडित कुर्मीको न्यायका लागि पहल गरिने बताउदै आएका उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने भएका कारण केही आशा पलाएको अधिकारकर्मीको भनाइ छ ।
बाँकेबाट आएका महिला अधिकारकर्मीहरु काठमाडौंको कलंकीमा डेरामा बस्दै आएका छन् । पुसयामको कठ्याङ्ग्रिदो जाडोमा पैदल यात्रा गरेर माइतीघर मण्डला आइपुग्ने गरेका छन् । माइतीघरको सडकमा एकसरो कार्पेटमा बस्दै न्यायको माग गरेका छन् । केही सांसद र अधिकारकर्मीले उनीहरुलाई भेटेका छन् । तर, न्याय पाउने आश भने उनीहरुमा पलाएको छैन । शान्ति, सुशासन, न्याय एवम् समानता र स्वतन्त्रताको खरोसँग वकालत गर्ने लामिछाने आफै गृह मन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । पिडितले न्याय प्राप्ति गर्नका लागि सम्बन्धित पक्षले गम्भिरतापूर्वक चनाख हुन जरुरी छ ।







प्रतिक्रिया दिनुहोस्