काठमाडौं । सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । उनीसँगै स्वतन्त्र पार्टी, राप्रपा र जसपाका नेताहरु बालकोट पुगेका छन् ।
कांग्रेसले राष्टपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान राखेपछि माओवादी केन्द्रले गठबन्धन त्यागेको हो । योसँगै नयाँ गठबन्धन बन्ने भएको छ ।
राष्ट्रपतिले सरकार गठन गर्न दिएको समय बेलुकी ५ बजेसम्म छ । बहुमत पुर्याउन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाका शीर्ष नेताहरु बालकोटमा छन् ।
सरकार गठन गर्न २७५ सांसद रहेको प्रतिनिधिसभामा १३८ चाहिन्छ। गठबन्धन टुटेपछि एमाले ७८, माओवादी ३२, रास्वपा २०, राप्रपा १४ र जसपा १२ गरेर १५६ सांसद पुग्छन् । त्यसो हुँदा सहज रुपमा सरकार गठन गर्न सुविधाजनक बहुमत पुग्ने देखिएको छ ।
तर, प्रचण्डलाई नेतृत्व स्वीकार गर्न राप्रपाले नमान्ने अवस्था छ । ओलीको आग्रहमा राप्रपा अध्यक्ष लिङदेन गठबन्धनमा आउन सक्ने आंकलन छ ।
अहिले कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपा १४, जसपाले १२, नेकपा एसले १०, जनमत पार्टीले ६ सीट ल्याएको छ ।
लोसपाले ४, नागरिक उन्मुक्ति ३, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १र१ सीट जितेका छन् । स्वतन्त्र सांसद ५ जना छन् ।
सत्ता गठबन्धन टुटेर एमाले क्याम्पमा सबै माओवादी, रास्वपा, राप्रपा, जसपासँग लोसपा, जनमत, नागरिक उन्मुक्ति र केही स्वतन्त्र आएपछि दुईतिहाइ बहुमत नजिक पुग्नसक्ने देखिन्छ ।







प्रतिक्रिया दिनुहोस्