काठमाडौँ, ११ माघ । ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणको निष्पक्ष निकायबाट छानबिन माग गर्नुभएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद सिलवाले भनेका छन्– घटनाक्रममा आफ्नो विपक्षमा रहेकाबाटै छानबिन गरेर आफूलाई दोषी, अन्य सबैलाई निर्दोष साबित गर्ने खेल भइरहेको छ ।

‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निष्पक्ष निकायबाट छानबिन हुनु र दोषीमाथि कारबाही हुनु आवश्यक छ,’ सिलवालले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ– जुन मान्छे यो घटनाक्रममा मेरो विपक्षी छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरूलाई निर्दोष साबित गरी मलाई प्रहार गर्ने जुन खेल भइरहेको छ, त्यसको अन्त्य हुनुपर्छ ।’
एक जनप्रतिनिधिको कर्तव्यसमेत आफूमा थपिएकाले यो विषयमा आम जनसमुदायलाई स्पष्ट पार्न भन्दै उहाँले विज्ञप्ति जारी गरेको उल्लेख गर्नुभएको छ । अहिले आफ्नो ज्यानमाथि समेत खतरा पैदा भएको दाबी उहाँको छ ।
सांसद सिलवालले अगाडि भन्नुभएको छ– अहिलेको संक्रमणकालीन कामचलाउ सरकार र त्यसको इसारामा वर्तमान प्रहरी नेतृत्वले जसरी पटकपटक मेरो जीउज्यानमाथि धावा बोल्ने प्रयास गरेको छ, त्यसले मेरो जीवन नै असुरक्षित रहेको अवस्था छ ।
उहाँले राज्यसंयन्त्रले निष्पक्ष ढंगले काम गर्ने र अनुसन्धान पूर्वाग्रहप्रेरित नहुने वातावरण नबनुञ्जेल धैर्य गर्न पनि आग्रह गर्नुभएको छ । अहिलेको सरकारले पूर्वाग्रही काम गरिरहेको आरोप लगाउँदै सिलवालले नयाँ सरकारले यो प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभएको छ ।
‘यो सरकारले विधि, नियम र मर्यादा मिचेर गरेका योलगायत सम्पूर्ण कामहरूको आगामी जनमुखी सरकारले अद्योपान्त अनुसन्धान गर्नुपर्छ’ उहाँको भनाइछ– ‘भोलि निष्पक्ष अनुसन्धान नभए यस्तो कार्यमा संलग्न र अहिले त्यसबाट प्रत्यक्ष लाभ लिइरहेकाहरूलाई अन्याय हुन सक्छ, त्यसैले यो समग्र पक्षको निष्पक्ष अनुसन्धान हुनुपर्छ र दोषी दण्डित हुनुपर्छ ।’







प्रतिक्रिया दिनुहोस्