दोलखा, १० माघ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना ठेकेदारको ढिलाइका कारण सम्पन्न हुन अझै २ वर्ष लाग्ने भएको छ । ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाले निर्माण कार्य छिटो छरितो बनाउने उद्देश्यले ४ भागमा विभाजन गरी ठेक्का लगाए पनि एउटा ठेकेदारले बेइमानी गर्दा दुई बर्ष ढिलाइ हुने भएको हो ।
भारतीय ठेकेदार लट–२ कम्पनी टेक्सम्याको रेलवे इञ्जिनीयरिङले लक्ष्यअनुसार काम नगर्दा आयोजना करीब २ वर्ष ढिलो हुने स्थिति देखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनु भयो । ‘टेक्सम्याकोले लक्ष्यअनुसार काम नगरिदिँदा समयमै आयोजना सम्पन्न गर्न चुनौती देखिएको छ,’ प्रवक्ता न्यौपानेले भन्नुभयो ।
आयोजनाको निर्माण कार्य अहिलेसम्म करीब ९४ प्रतिशत सकिइसकेको छ । तर, टेक्सम्याकोको जिम्मामा रहेको ठेक्काको काम भने ४० प्रतिशत पनि सकिएको छैन । टेक्सम्याकोले हाइड्रो मेकानिकलअन्तर्गत बाँधस्थलको ‘गेट हब’ सम्बन्धी काम मात्र लक्ष्य अनुसार गरेको स्रोतको भनाइ छ । तर, पेनस्टक पाइपको ढुवानीको काम भने अहिलेसम्म २५ प्रतिशत मात्र भएको छ ।
टेक्सम्याकोले ढुवानी गरी जडान गर्नुपर्ने ५ मिटर लम्बाइ र ३ दशमलव ६ गोलाइ भएको करीब १ सय ६० ओटा पेनस्टक पाइपमध्ये आयोजनास्थलमा करीब ४० ओटा मात्र ढुवानी भएको छ । स्रोतका अनुसार आयोजना व्यवस्थापनले कम्तीमा २० ओटा गाडीबाट ढुवानी गर्न पटकपटक पत्राचार गरे पनि अटेर गरी टेक्सम्याकोले तीनओटा गाडीले मात्र ढुवानी गरिरहेको छ ।
टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोशीसम्म ल्याउन ५ दिन र सुनकोशीबाट आयोजनास्थल लामाबगरसम्म पुर्याउन करीब १२ दिन लगाएर ढुवानी गर्ने गरेको तथ्यांकले बाँकी १ सय २० ओटा पेनस्टक पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने देखिन्छ । आयोजनाको ३ सय ७३ मिटरको ठाडो सुरुङ, १ सय मिटरको तेर्सो सुरुङ र ३ सय १० मिटरको अर्को ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्