काठमाडौं, २१ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने भनिएपनि देशका विभिन्न जिल्ला र क्षेत्रहरुमा मतदानमा अवरोध उत्पन्न भएको थियो । दोलखा जिल्लाका केही स्थानमा पुनः मतदान भए । विभिन्न कोणबाट निर्वाचनको समिक्षात्मक विश्लेषण भइरहदा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र नेपाल बार एशोशियसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठसँग एबीसीकर्मी ध्रुव अधिकारीले गरेको संवादमा आधारित आलेख :
सत्ता केन्द्रीत राजनीति : श्रेष्ठ
नेपाल बार एशोशियसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ यसअघि वि.सं. २०७४ को निर्वाचनमा कमसेकम वैचारिकरुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यतामा दलहरु रहेको तर, यस वर्ष यो कुरा गौण रहेको बताउँछन् । लक्ष्य प्राप्तिका लागि राज्य सञ्चालन हुनेभन्दा पनि सत्ता केन्द्रीत राजनीति भएको उनको भनाइ छ ।
श्रेष्ठ भन्छन्, “कुन लक्ष्य प्रािप्तका लागि राज्य सञ्चालन हुनेभन्दा पनि कसले सत्तामा रहने भन्ने कुरामा जोड रह्यो । संविधान आफूहरुले बनाएको गणतान्त्रिक संघीय संविधान हो ।” उनले एकातिर दलहरुले निर्माण गरेको गणतान्त्रिक संघीय संविधान बचाउनुपर्छ भन्ने र अर्कोतर्फ, आफ्नै हिसाबले अघि बढ्नुपर्छ भन्ने दुइ थरीबीचको चुनाव भएको बताए ।
यसअघिको चुनावमा जनताले जुन आकांक्षा राखेको हो त्यो गएको पाँच वर्षमा दलहरुले उपलब्धिमुलक काम गर्न नसकेको उनले बताए ।
“चुनावमा दलहरुप्रति सतर्कता अप्नाउने किसिमले तिमीहरु होस् गर π भन्ने किसिमले मतदान भएको पाइयो । संविधानको मर्म र भावना अनुसार पार्टीहरुले जुन सोचे अनुसार समानुपातिक, समावेशीता सहभागीतालाई अनुसरण गर्न सकेन । यो आवश्यक छैन, यो हुनुहुदैन, यसले स्थायी सरकार बन्दैन भन्ने मनस्थिती बन्दै गएको देखिन्छ”, उनले भने ।
यो समानुपातिक सिद्धान्तलाई छोड्न नहुने र सरकार बन्न जुन समस्या देखिएको छ, यस सम्बन्धमा पुर्नविचार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
सापेक्षित तुलना गर्नुपर्छ : यादव
पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव संविधानमा व्यवस्था भए बमोजिम यो दोस्रो पटक लोकतान्त्रिक निर्वाचनको अभ्यास भएको बताउँछन् । वि.सं. २०७४ पछि स्थानीय तहको वैशाखमा र मंसिरमा भएको संघीय निर्वाचनमा अपेक्षित सुधारहरु भने रहेको उनको भनाइ छ ।
“यो संविधानको आधारमा दोस्रो पटकको लोकतान्त्रिक निर्वाचनको अभ्यास हो । नेपाली जनताले अपेक्षा गरे अनुसार गर्नुपर्ने आवश्यकता अझै छ । यसपालीको निर्वाचनमा हामीले अपेक्षा गरे अनुसारको सुधार गर्नुपर्ने कुरा धेरै देखिएको छ”, उनले भने ।
लोकतन्त्रमा नयाँ दलहरुले गर्दा मत बाँडिनु स्वभाविक रहने बताउदै यादवले विगत र अहिलेको निर्वाचनलाई सापेक्षितरुपमा तुलना गर्नुपर्ने बताए ।
“निर्वाचनलाई तुलना गर्दाखेरी सापेक्षितरुपमा गर्नुपर्छ, निरपेक्षरुपमा होइन । यो वितरणलाई कसरी लिनुपर्छ, यसलाई पुर्नविचार गर्नुपर्ने आवश्यकता भइसकेको छ”, उनले भने ।
प्रजातन्त्रमा प्रौढता आएको आभाष : पोखरेल
यस्तै, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले समग्र निर्वाचनको शब्दमा समिक्षा गर्दै प्रजातािन्त्रक अभ्यासमा प्रौढता आएको भान भएको बताए । उनले प्रजातान्त्रिक अभ्यासको बाटो, खुड्किलो चढ्दै गर्दा निर्वाचनको व्यवस्थापन, सुरक्षा लगायतका पक्ष राम्रो हिसाबले अघि बढेको बताए ।
उनले भने, “राजनीतिक दलले संयमता देखाएको छ । हाम्रो प्रौढता आउदै गरेको हो कि भन्ने भान हुन्छ । निर्वाचनको परिणाम जसरी आउदैछ, कुनै पनि दलको बहुमत अब कस्ता किसिमका गठबन्धन बन्छन्, जति ठूलो दलहरुले धेरै सिट जित्यो, त्यसले त्यति नै पाउने प्रष्ट छ ।”







प्रतिक्रिया दिनुहोस्