काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा स्वतन्त्र पार्टी उदाउनु मामुली कुरा भएको बताएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहणका लागि बिहीवार दिउँसो झापा ओर्लिएका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भने,‘ स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन ।’एमाले नेता देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली प्रमाणपत्र ग्रहण गरेपछि दमक नगरपालिकामा आयोजना हुने विजय जुलुसमा सहभागी बन्ने छन् । शुक्रबार कमल, गौरादह र गौरीगञ्जलगायतका गाउँपालिकामा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुने बताइएको छ ।स्थापनाको हिसाबले सबैभन्दा कान्छो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय राजधानीमै ठूला भनिएका पार्टीहरूलाई धक्का दिएको छ । काठमाडौं उपत्यकाका १५ मध्ये ५ मा यस पार्टीले जित हात पारेको छ । काठमाडौं(२ बाट सोबिता गौतम, काठमाडौ(६ बाट शिशिर खनाल, काठमाडौं(७ बाट गणेश पराजुली, काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठले जितेका छन् ।
त्यस्तै ललितपुर–३ मा पनि रास्वपा उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छिन् । चितवन–२ मा पार्टी सभापति निकटतम् प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतले विजयी भएका छन् । त्यस्तै सुनसरी–१ र चितवन–१ मा पनि रास्वपा उम्मेदवार अग्रस्थानमा छन् । समानुपातिकतर्फ पनि रास्वपा तेस्रो स्थानमा रहेको छ ।सञ्चारकर्मीका रूपमा परिचित रवि लामिछानेले २०७९ असार ७ गते यो पार्टी गठन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्