काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन् ।
उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए । २ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ । सोही कारण एमालेले शुक्रबार नै सांसदहरूलाई बिदाइ गरेको हो ।
अध्यक्ष ओलीले भोलि १ असोजको मध्यरातदेखि संसदको कार्यकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदलाई निर्देशन दिए ।
प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन एमालेको अन्तिम संसदीय दल बैठक बसेको हो । आजको बैठकमा ओलीले मात्रै सम्बोधन गरेका थिए । उनले प्रतिनिधिसभामा एमाले सांसदहरूले निभाएको भूमिको प्रशंसा गरे ।
संकटका बेला पार्टीलाई साथ दिएको भन्दै उनले भने, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च गर्यो । तर हाम्रो लागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी संसदमा आउँदैनौं ।’
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिएका छन्। ओलीले भने, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पुर्याउन लाग्नुस् ।’
बैठकपछि सामूहिक फोटोसेसन गर्दै नेताहरू छुट्टिएका थिए ।
प्रतिक्रिया दिनुहोस्