काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह यतिबेला महानगरभित्रका अबैध संरचना भत्काउने र बेसमेन्ट खाली गर्ने काममा व्यस्त छन् । दैनिक जसो नक्सा पास बिना बनाइएका संरचना भत्काउने काम बालेन्द्रको नेतृत्वमा महानगरले गरिरहेको छ । २४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन । २०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार ग¥यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन । टुकुचाको खोजीको विषय पटक–पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला–ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् ।
टुुकचा खोज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्वले आँट नै गर्न सकेन ।हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ५सय मिटरमा जमिनभित्र छोपिएको कुरा धेरैलाई थाहा नै थियो । तर, यति ठूला–ठूला कुन भवनको मुनि कुन भागबाट कस्तो अवस्थामा खोला बगिरहेको छ भन्ने कुरा खोजी नै भएन । ३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि भन्यो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू ।’ सूचनामा घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएको थियो । यो पटक पनि टुकुचाबारेको सूचना विगतकै जस्तो ‘टाँस्नका लागि मात्रै हो’ भन्ने धेरैको अनुमान थियो । तर, बिहीबार दिउँसो साढे १ बजे जय नेपाल हलको परिसरमा महानगरको डोजर पुगेपछि भने अनुमान फेल खायो । यसपटक मेयर बालेन्द्र साह (बालेन) ले विगतको जसरी सूचना मात्रै जारी गर्ने तर, खोला नखोज्ने परम्परा तोडेका छन् । डोजर लिएर पुगेको महानगरको टोली बिहीबार दिउँसोदेखिनै जय नेपाल हलको उत्तरतर्फको परिसरमा खन्न तल्लीन रह्यो । सुरुमा जय नेपाल हलको परिसरमा करिब १५ फिट खोतल्दा महानगरले खोला ढाकिएको खोला फेला पारेको थियो । निर्मल निवास पछाडि सुनदेवीबाट सुरु भएको टुकुचा खोला नारायणहिटी दरबार संग्रहालयभित्र कल–कल बगिरहेकै छ । तर, जब नारायणहिटीको पर्खालबाट बाहिर निस्कन्छ, त्यसपछि भने खोला हेर्न झण्डै ५०० मिटर तल काठमाडौं प्लाजानजिक आउनुपर्छ । विहीबार जय नेपाल हलको परिसरमुनि टुकुचा खोला भेटिंदा स्थानीय वासिन्दा नै अचम्मा परे ।
टुुकुचालाई गहिरो खाल्डोमा ईंटाको डोलो पाइप बनाएर बगाएको भेटिंदा हेर्नेका भीड लाग्यो । दशकौं अगाडि हराएको टुकुचा खोलाको कहिले र कसले अतिक्रमण प¥यो भन्नेबारे सरकार र महानगर, नापी विभाग अनभिज्ञ छ । खोलामाथिको जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता छन् । उनीहरुसँग लालपूर्जा छ । खानी तथा भूगर्भ विभागको प्राविधिक सहयोगमा खोलाको भूमिगत भएको स्थानहरु पत्ता लगाएपछि चिहृन लगाएर महानगर प्रहरीको सहयोगमा डोजर चलाए थियो । काठमाडौं महानगरपालिकाले तीन जना इन्जिनियरलाई डोजर चलाउने स्थानमै राखेर काम नसकिने समय सम्म फिल्डमै रहने महानगर प्रहरी बताउछन् ।
महानगरपालिकाका मेयरका रुपमा बालेन आएपछि महानगरले बोनाफाइड इन्जिनियरिङ कन्सलटेन्सीमार्फत टुकुचाको खोला पहिलेको अवस्था, हालको भएको अतिक्रमण र महानगरले महानगरले गर्नुपर्ने कामको सम्बन्धामा अध्ययन भएको थियो । टुकुचा काठमाडौं महानगरभित्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा खोला बग्ने गरेका छ । तर खोलानै अतिक्रमण गरेर ब्यापारिक भवनदेखि बैंक, रेष्टुरेन्ट लगायतका संरचना वनाईएको छ । महानगर भित्र टुकुचा खोला कहाँबाट कहाँ गएको हो भनेर खोजिसकेपछि भत्काउने कार्य समेत जयनेपाल हलबाट सुरु गरेको छ । खोला अतिक्रमण खुलाउन तीन तहकै सरकार र आम नागरिकको सहयोग चाहिन्छ । टुकुचा खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब बनाईएको वर्षौ वितेको थियो । खोलामाथि ६ तलेभन्दा अग्ला भवन बनेका छन । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन । काठमाण्डौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापी नक्सामा छैन ।
यो क्षेत्रमा खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको क्षेत्रमा खोला गायव पारी भवन निर्माण गरिएको विषयमा स्थलगत अध्ययन गरी नापी कार्यालयलाई पत्राचार पनि गरेको थियो । नापीले त्यस क्षेत्रमा खोला नै गायब भएको जवाफ पठाएको थियो । प्राधिकरणका अनुसार टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम छ । काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्मको चौडाई पनि सरदर कम्तीमा चार मिटर हो । यसलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । यस क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोडभन्दा वढि पर्छ । यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँभन्दा वढिको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । भूमिसम्बन्धि ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोलो कसैले छोप्न नपाउँने स्पष्ट ब्यवस्था गरेको छ । यदि कसैले हडपेको, छापेको वा मिचेको भए खोलो पूर्ववत् अवस्थामै फर्काउनुपर्छ ।
तर नापी कार्यालयले खोलामाथि नापेर कित्ता छुट्याइदिने, मालपोत कार्यालयले लालपुर्जा दिने र काठमाण्डौ महानगरपालिका तथा उपत्यका विकास प्राधिकरणले नक्सा स्विकृत गरिदिने गरेकैले अहिलेको अवस्था आएको हो । विगतमा उपत्यका विकास प्राधिकरण र काठमाण्डौ महानगरपािलकाले टुकुचा खोला पुर्ववत अबस्थामा फर्काउने प्रयास गर्नुको सट्टा ब्यापरिक भवनहरु निर्माण गर्नका लागि धमाधम नक्सा पास गरि स्विकृति दिन थालेपछि हात्तिसार उपभोक्ता समितीले ब्यापारिक भवन निर्माण कार्य रोक्न निवेदन दिएको थियो । त्यस विषयमा काठमाण्डौ महानगरपालिकाले छानविन र स्थलगत अध्ययन समेत गरेको थियो । त्यसपछि खोलामाथि संरचना बनाउन लागेका लक्ष्मी बैँक र एसबीएल डेभलपर्सलाई काम रोक्न निर्देशन पनि दियो । तर सुकुम्बासी बस्तीमा डोजर चलाउन सक्ने महानगरपालिकाले ब्यापारिक भवनहरु भत्काउन त के, निर्माण रोक्का राख्न पनि सकेन । उपत्यका विकास प्राधिकरणको नीति अनुसार अहिले टुकुचा खोला वरपर संरचना निर्माण गर्दा सिमानाबाट ४ मिटर छोड्नुपर्ने प्राबधान छ । तर हात्तिसार क्षेत्रमा टुकुकचाको सिमानाबाट ४ मिटर त के टुकुचामाथि नै संरचना निर्माण भएको छ । ब्यापारिक घरानाको भवन रहेकोले, त्यो भवन भत्काउने त परैको कुरा स्पष्टिकरण सोध्न समेत आँट गरेको थिएन । तर, मेयर बालेन्द्र साह निर्वाचित भएपछि यो महानगर भित्र बग्ने हराएको टुकुचा खोला उत्खनन् गरेका छन् वा भनौ लुकाइएको खोला खोजेका छन् ।
प्रतिक्रिया दिनुहोस्