काठमाडौं, ३० भदौ । प्रतिस्पर्धीको रुपमा रहेको नेकपा एमालेलाई परास्त गर्न सत्तारुढ ५ दलले सिट भागबण्डा मिलाउन साउन २० पछि कार्यदल नै बनाएर काम थाले पनि पार लाग्न सकेको छैन । सत्तारुढ गठबन्धन सिट बाडफाटबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बँडफाटबारे छलफल गर्ने सहमति भएको छ ।
सत्ता गठबन्धनमा सिट बाँडफँटको विषय पेचिलो बन्दा प्रतिपक्षी दल एमालेलाई भने थोरै भए पनि राहत मिलेको छ । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्रका पाच दलबीच सिट बाँडफाँटको टुंगो लगाउन लामो समय यता बैठक र छलफल चलिरहे पनि अझै निष्कर्शमा पुगेको छैन । प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि निरन्तर छलफलमा जुटेका दलहरुको संयुक्त र द्विपक्षीय छलफलले सिट बाडफाडको टुंगो लाग्न नसकेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताएका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल निर्णयको नजिक रहेको बताउदै मन्त्री कार्कीले बैठकको अवस्था सकारात्मक रहेको बताए । उनले बैठकमा दिव्पक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिए । मन्त्री कार्कीले दलहरुको आफ्नो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।
मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलहरुले आफ्नो आफ्नो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको बताए । यता मंसिर ४ को निर्वाचन मिति नजिकिएसगै नेकपा एमालेलगायत सबैजसो राजनीतिक दल चुनावी अभियानमा केन्द्रित हुन थालेका छन् । निर्वाचन मिति घोषणा भएसँगै सभा, सम्मेलन, पार्टी प्रवेशदेखि मतदाता रिझाउने कामलाई तीव्रता दिएका दलहरुले घोषणापत्र बनाउने र उम्मेदवार छनोटको कामलाई समेत सगसगै अघि बढाएका छन् । सत्ता गठबन्धनमा सिट बाडफँटको विषय पेचिलो बन्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भने थोरै भए पनि राहत मिलेको छ । गठबन्धन फुटोस् भन्ने चाहना पूरा नहुने भएपछि एमालेले आफ्नो रणनीति पनि सोही अनुसार परिवर्तन गर्ने भएको छ । पाच दलीय गठबन्धनका नेताहरुले जसरी पनि गठबन्धन जोगाउने अभिव्यक्ति दिदै आएका कारण एमाले त्यसै पनि दबाबमा परेको छ । सोही कारण एमालेले राष्ट्रिय रुपमा गठबन्धन नगर्ने तर स्थानीयस्तरमा चुनावी तालमेल गरेर अघि जाने नीति अख्तियार गरेको छ । यो नीति अनुसार एमालेले महन्थ ठाकुर नेतृत्वको लोसपा हुदै कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा तथा सीके राउत नेतृत्वको जनमत पार्टी लगायतका सानातिना पार्टीहरुसँग चुनावी तालमेल गर्ने भित्री तयारी गरेको छ ।
यो तयारी अनुसार एमाले नेताहरुले भेटवार्ता र कुराकानी गरिरहेका छन् । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले गठबन्धन सरकारका अव्यवहारिक, असफल र अनैतिक क्रियाकलापहरुका कारण आम नागरिक मात्र नभएर गठबन्धनभित्रकै कार्यकर्ताहरु पनि आजित रहेको हुदा त्यसको परिणाम आगामी निर्वाचनबाट जनताका सबै भोट एमालेलाई आउने दाबी गरे ।
सांसद सुनुवारले गठबन्धन सरकारले हालसम्म गरेका सबै अराजक गतिविधि र देशको हालको नैराश्यपूर्ण अवस्थाले जनताले यसै पनि नेकपा एमालेलाई नै भोट दिएर जिताउनेमा आफू विश्वस्त रहेको बताए । एमालेले राष्ट्रियस्तरमा कसैसग पनि चुनावी गठबन्धन नगर्ने बताइरहेको छ । तर उसले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल भने हुने भन्दै ढोका खुलै राखेको छ । यता गठबन्धनको सिट बा“डफा“टमा शीर्ष नेताहरु लचिला पनि देखिएका छन्, तर सहमति भने जुटेको छैन । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हर हालतमा गठबन्धन टुट्न नदिने पक्षमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यो गठबन्धन तोड्ने पक्षमा छैनन् । तर उनीहरु पार्टीका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चर्को दबावमा देखिएका छन् ।
गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका नेताहरुमा भने अरु दलले आफूलाई अलमल्याउने काम मात्र गरेका त होइनन् भन्ने आशंका देखिन थालेको छ । यद्यपि सिट बाडफाटमा निरन्तर छलफल भइरहेको छ । करिव १०० आसपासको सिटमा सहमति पनि जुटेको देखिन्छ । कार्यदलका एक सदस्यका अनुसार ६०/६५ सिटमा कांग्रेस, २०/२२ सिटमा माओवादी ८/९ मा एकीकृत समाजवादी ५/७ सिटमा जसपाको नाममा लगभग सहमति जुटेको छ । बाकी क्षेत्रमा दुई वा दुईभन्दा बढी दलको दाबी छ । यस्ता क्षेत्रमा सहमति खोज्दा दलहरुबीच छुट्टा–छुट्टै छलफल भएपनि सहमति जुटेको छैन । असोज २ र ३ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने भएकाले अब त्यसपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति भएको छ ।








प्रतिक्रिया दिनुहोस्