काठमाडौं, ३० भदौ । लुम्बिनी प्रदेशमा आगामी संघ र प्रदेशको चुनावी सरगर्मी बढ्दो छ । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला पुत्र एवम् पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्व सभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वमन्त्री वर्षमान पुन अनन्त लगायतका नेताहरु यस प्रदेशबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । यसैगरी गृहमन्त्री बालकृष्ण खाण, शहरी विकास मन्त्री मेटमणि चौधरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई लगायतका प्रभावशाली नेताहरु लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्छन् ।
लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासीबाट कांग्रेसका पूर्व महामन्त्री एवम् प्रभावशाली नेता डा. शशांक कोइराला २०७४ सालमा नवलपरासी पूर्व बर्दघाट–सुस्ताको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । बीपी पुत्र समेत रहेका कोइराला २०६४ र २०७० सालमा पनि सोही क्षेत्रबाट लगातार निर्वाचित सांसद हुन् । नवलपरासी निर्वाचन क्षेत्र नं. १ र २ बाट उद्योगति विनोद चौधरीको नाम सिफारिस भएपछि कांग्रेसका स्थानीय नेता, कार्यकर्तामा विवाद समेत भयो । चौधरी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । नवलपरासीमा २०७४ को चुनावमा एमालेबाट संसदीय निर्वाचन लडेका हृदयेश त्रिपाठी यो पटक उनी नेतृत्वको जनता प्रगतिशील दल नामक नयाँ पार्टीमार्फत चुनाव लड्ने जनाइएको छ ।
गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ बाट सिफारिस भएका छन् । अघिल्लो पटक समानुपातिकमा रहेका यो पटक प्रत्यक्ष चुनाव लड्दैछन् । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा दाङ क्षेत्र नंं. २ बाट सिफारिस भए । २०७४ मा रोल्पाकी समानुपातिक सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती मगर यो पटक काठमाडौं क्षेत्र नं. २ बाट चुनाव लड्ने तयारीमा छिन् । यद्दपि, माओवादी केन्द्रले रोल्पाबाट महरासहित पूर्व अर्थमन्त्री वर्षमान पुन, लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी, जयपुरी घर्ती मगर, ओनसरी घर्ती र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ । माओवादीका पूर्णकुमारी सुवेदीले बाँके २ बाट, कमला रोकाले रुकुम पूर्वबाट प्रत्यक्ष चुनाव लड्ने दाबी गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रुपन्देही १ बाट छविलाल विश्वकर्मा, रुपन्देही २ बाट पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेल, दाङ २ बाट महासचिव शंकर पोखेल, रुपन्देही ५ बाट खिमलाल भट्टराईको नाम सिफारिस गरेको छ । यसैगरी, पाल्पा २ मा ठाकुर गैरे, गुल्मी १ मा पूर्व परराष्ट्रमन्त्री एवम् उपमहासचिव प्रदीप ज्ञवाली, अर्घाखाँचीमा टोपबहादुर रायमाझी र सूर्य थापा प्युठानबाट सिफारिस छन् । गुल्मी १ बाट एमाले सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टसहित राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस छ ।
एमाले स्थायी समिति सदस्य घनश्याम भुषाल रुपन्देही १ र ३ दुवै क्षेत्रबाट सिफारिस छन् । २०७४ को निर्वाचनमा भुषालले राप्रपा नेता दीपक बोहोरालाई हराएका थिए । बर्दियामा यसअघि एमाले सांसद विमला विक छिन् । एमालेले दाङ १ मा सचेतक शान्ता चौधरी सहित रेवतीरमण शर्मा र गंगा चौधरी गरी तीन जना सिफारिस गरेको छ ।
पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री गुल्मी २ बाट सिफारिस छन् । पूर्वमन्त्री एवम् समाजवादीका सांसद सोमप्रसाद पाण्डे पाल्पा २ बाट सिफारिस छन् । जनता समाजवादी पार्टीका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई बाँके र एकीकृत समाजवादीका शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङमा चुनावी गतिविधि बढाएका छन् । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट चुनाव लड्दैछन् ।
पूर्व एमाले नेता वामदेव गौतमले यो पटक नेकपा एकता राष्ट्रिय अभियान पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन् । गौतमको निर्वाचन क्षेत्र प्युठान हो । आगामी संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धनका दलहरुभित्रै तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनविरुद्ध एक्लै लड्ने दल नेकपा एमाले पनि यो प्रदेशमा बलियो देखिन्छ । यसर्थ, लुम्बिनी प्रदेशमा चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्